logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • समकक्षता प्रमाणपत्र लिन अल्झाउनु नहुनेमा सांसदहरुको ध्यानाकर्षण

    समकक्षता प्रमाणपत्र लिन अल्झाउनु नहुनेमा सांसदहरुको ध्यानाकर्षण

    357
    Shares
    समकक्षता प्रमाणपत्र लिन अल्झाउनु नहुनेमा सांसदहरुको ध्यानाकर्षण

    काठमाडौं । सांसदहरुले विद्यार्थीहरुलाई समकक्षता प्रमाणपत्र लिन अल्झाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले विदेशी विश्वविद्यालयमा पढेर आएका विद्यार्थीहरुलाई समकक्षता दिन अल्झाउने गरिएको बताएका हुन् ।

    सांसदहरुले विद्यार्थीहरुलाई व्यक्तिगत इगोको आधारमा विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्रबाट बञ्चित गरिएको बताए । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले व्यक्तिगत इगोको कारण नेपालमा समकक्षताको प्रमाणपत्र नदिने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    समकक्षता दिन पनि व्यक्तिअनुसार विभेदको व्यवहार गरिएको उनको भनाई छ । उनले भने – ‘विदेशका विश्वविद्यालयबाट दिक्षितहरुलाई समकक्षता नदिने । नदिने कसरी भन्दाखेरी व्यक्तिगत इगोको आधारमा । आफूले भन्दा राम्रो नम्बर ल्यायो भनेर । गतिलो विषय पढ्यो भनेर । यो ठुलो समस्या छ । यतातिर ध्यान दिनुहोला ।

    व्यक्ति विशेषका कारणले कुनै विश्वविद्यालयको समकक्षता नदिने, कुनैको दिने यावत कुराहरु भएका छन् । यसमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । समकक्षता धेरै ठूलो समस्या छ है । पढेर आएका छन् तर यहाँ समकक्षता दिइँदैन । कि त बाहिर पढेर नओओ भन्नुपर्यो । होइन भने यहाँ अड्काउने काम भएको छ ।’

    बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले समकक्षता दिनलाई अल्झाउनु नहुने बताइन् । उनले विद्यार्थीहरुले विदेशमा पढेर ल्याएको डिग्री नेपालकै सम्पती भएको भन्दै समकक्षतामा देखिएको समस्यालाई सल्ट्याउनुपर्ने धारणा राखिन् ।

    उनले भनिन् – ‘समकक्षतामा अल्झाउने काम नगरियोस् । नेपालकै नागरिक, नेपालकै विद्यार्थीले कुनै ठाउँमा गएर डिग्री लिएर आउँछ भने त्यो त राज्यकै सम्पती हो नि । त्यसलाई धेरै अल्झाउने काम नगरौँ । समस्या धेरै छ । यसलाई सल्टाउनुपर्छ ।’

    त्यसैगरी नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले समकक्षताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले नै दिनुपर्ने धारणा राखे । उनले नक्कली डिग्री र सर्टिफिकेटहरु पनि आउने गरेको भन्दै समकक्षता दिने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराए ।

    उनले भने – ‘समकक्षता त्रिभुवन विश्वविद्यालयकै माध्यमबाट अगाडी बढाउनु बढी उपयुक्त हुन्छ कि भन्ने लाग्छ । समकक्षताको पाटोलाई हल्का ढंगले लिनु हुँदैन । दुःख दिनु हुँदैन एउटा कुरा हो । तर अहिले विभिन्न खालका डिग्रीहरु, सर्टिफिकेटहरु सजिलै प्राप्त हुन्छ । भारतका विभिन्न विश्वविद्यालयका नामबाट सर्टिफिकेट प्राप्त हुन्छ ।

    विद्यावारिधि गर्ने विद्यार्थीहरु विभिन्न सेवामा हुनुहुन्छ । सेवाबाट बिदा लिएको पनि थाहा छैन । रिसर्च कहाँ गर्नुभयो पनि थाहा छैन । हिँड्दा हिँड्दै मान्छे डाक्टर भइसकेको छ । हल्का विषय होइन ।’

    जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले विदेशको जुनसुकै विश्वविद्यालयबाट ल्याएको डिग्रीमा त्रिभुवन विश्वविद्यालयले समकक्षता दिनु नहुने धारणा राखिन् । उनले सम्बन्धित विश्वविद्यालयको बारेमा पनि जानकारी लिनुपर्ने बताइन् ।

    उनले भनिन् – ‘देशको शिक्षा क्षेत्र फितलो भयो । यसलाई स्वीकार्नै पर्छ । समकक्षताको विषय गम्भीर विषय हो । यसमा कुन, कहाँको विश्वविद्यालय कस्तो छ ? के छ ? जस्तोसुकै विश्वविद्यालयको डिग्री ल्यायो अनि त्रिभुवन विश्वविद्यालयसँग समकक्षता गर्न मिल्छ ? त्यो पनि सोच्नुपर्छ । पिएचडी गर्ने मान्छे कस्ता–कस्ता छन् त्यो पनि हामीले देखेका छौँ । कहाँबाट ल्याउँछ ? यि कुराहरुलाई गम्भीरतापूर्वक लिनुपर्यो ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend