ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गरे । उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताए । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गरे । उनले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताए ।
उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गरे । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताए ।
उनले भने, ‘ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये एउटा सम्पदा क्षेत्र हो । सम्पदा क्षेत्रमा हामी कुनैपनि किसिमको सम्झौता गर्दैनौँ । कुनै कमजोरी गर्दैनौँ । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गर्नुपर्छ, व्यवस्थापन र सुधार गर्नुपर्छ भन्ने लक्ष्य राखेर अघि बढेका छौँ । यो वर्ष सम्पदाको क्षेत्रमा एउटा कायापलट हुने काम गर्यौँ ।
उदाहरणका लागि रातोमत्स्येन्द्रनाथको जात्रा । यो वर्ष सम्पन्न भयो । यसको प्रचार पुगेन भनिन्छ । यसको प्रचार नपुग्नुको कारण तिथिमितिअनुसार हुन्छ । तिथिमिति अनुसार निम्ता गर्दा गाह्रो हुन्छ, कुनै विदेशी अतिथिलाई बोलाउँदा । यसमा हामीले अन्तर्राष्ट्रिय पाहुना बोलाउन अफ्ठ्यारो छ ।’
मेयर महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापहरुलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए ।