logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • तल्लो सान्जेन आयोजनाको काम अन्तिम चरणमा, भदौभित्र बिजुली उत्पादन होला ?

    तल्लो सान्जेन आयोजनाको काम अन्तिम चरणमा, भदौभित्र बिजुली उत्पादन होला ?

    546
    Shares
    तल्लो सान्जेन आयोजनाको काम अन्तिम चरणमा, भदौभित्र बिजुली उत्पादन होला ?

    काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत बनाइरहेको ४२.५ मेगावाटको तल्लो सान्जेन जलविद्युत आयोजनाबाट आउँदो भदौभित्र बिजुली उत्पादन हुने भएको छ । आयोजनाको दुईवटै युनिटको काम सम्पन्न भई उपकरण सञ्चालन तयारी अवस्थामा रहेको छ ।

    तेस्रो युनिट चाँडै सक्ने गरी जनशक्ति परिचालन गरेको विकासकर्ता सान्जेन जलविद्युत कम्पनी लिमिटेडले बताएको छ । यसअघि गत वर्ष चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेकोमा ६ महिना पछि धकेलिएको थियो ।

    भूकम्प, नाकाबन्दी, कोरोना महामारी, सरकारी निकायबाट स्वीकृति दिन ढिलासुस्ती र ठेकेदारले पनि प्रभावकारी रुपमा काम नगर्दा आयोजना निर्माणमा ढिलाइ हुँदै आएको विकासकर्ता सान्जेन जलविद्युतले जनाएको छ ।

    १४.५ मेगावाटको माथिल्लो सान्जेन आयोजनाले गत वर्ष असोज २१ देखि बिजुली उत्पादन थालिसकेको छ । तल्लो सान्जेनको काम नसकिएपछि आयोजनाको म्याद पटक पटक थपिँदै आएको छ ।

    माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ आम्दानी गर्ने कम्पनीले जनाएको छ । माथिल्लो र तल्लो गरी दुई आयोजनाको जडित क्षमता ५७.३ मेगावाट छ ।

    कम्पनीका अनुसार दुई आयोजनाबाट ३२ करोड ४३ लाख ५ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजना बनाउन ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    माथिल्लो सान्जेनको लागत निर्माण अवधिको ब्याजबाहेक २ अर्ब २१ करोड ८० लाख र तल्लो सान्जेनको ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, कोरोना महामारी र अमेरिकी डलरको मूल्यवृद्धिले गर्दा आयोजनाको लागत बढेको छ ।

    कम्पनीले आयोजना बनाउन कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको प्रत्येक ३/३ महिनामा ब्याज पूँजीकरण हुँदै आएको छ । सञ्चय कोषले ९.५ प्रतिशत ब्याज लिएको छ ।

    माथिल्लो सान्जेन २२० केभी चिलिमे हब प्रसारण लाइन सम्पन्न हुनुअघि आउने भएपछि तत्कालका लागि चिलिमे जलविद्युत कम्पनीको ३३ केभी प्रसारण लाइनबाट बिजुली प्रवाह हुने भएको छ । माथिल्लो सान्जेनको यही प्रसारण लाइनबाट बिजुली प्रवाह भइरहेको छ । २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

    कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लावासीलाई १० प्रतिशत बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर जारी गरिसकेको छ ।

    स्थानीय रसुवावासीसहित सर्वसाधारणबाट ३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता भइसकेको छ । आयोजनाको निर्माण सन २०१३ बाट सुरू भएको हो । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कुल ५७ मेगावाट विद्युत उत्पादन हुनेछ । सिम्बु तथा चिलिमे टारसमेतका दुई ठाउँमा छुट्टाछुट्टै विद्युतगृह पनि निर्माण भइसकेका छन् ।

    कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ । सान्जेनमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६, विद्युत प्राधिकरणको १०.३६, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयवासीको १०, सञ्चय कोषका सञ्चयकर्ताको १९.५ प्रतिशत लगानी छ ।

    संस्थापक सेयरधनी तथा ऋणदाता संस्था कर्मचारीको ४.५ र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकहरुको १.२८ प्रतिशत स्वामित्व छ ।

    माथिल्लो सान्जेनको बिजुली बेचेर पौने २० करोड आम्दानी

    कम्पनीले माथिल्लो सान्जेनको बिजुली बेचेर १९ करोड ७८ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । माथिल्लो सान्जेनबाट २०८० असोज २१ देखि बिजुली उत्पादन सुरु भएको हो । विभिन्न दायित्व भुक्तानी गर्दा गत वर्ष कम्पनी १५ करोड ५३ लाख ४० हजार रुपैयाँ नोक्सानमा छ ।

    कम्पनीको प्रति सेयर आम्दानी ४.२६ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ ऋणात्मक अर्थात ८९.१३ रुपैयाँ रहेको सान्जेनले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । सान्जेनले माउ कम्पनी चिलिमेबाट ३३ करोड रुपैयाँ अल्पकालिन ऋण सापटी लिएको जनाएको छ ।

    यो पनि : 

    चिलिमेले बनाइरहेको सान्जेन आयोजनाबाट चैतभित्र बिजुली उत्पादन हुने

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend