logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दुई दशकदेखि कतारमा नेपाली परिकार पस्किरहेका पुनम दम्पत्तीको काठमाडौंमा रेष्टुरेन्ट खोल्ने योजना

    दुई दशकदेखि कतारमा नेपाली परिकार पस्किरहेका पुनम दम्पत्तीको काठमाडौंमा रेष्टुरेन्ट खोल्ने योजना

    770
    Shares
    दुई दशकदेखि कतारमा नेपाली परिकार पस्किरहेका पुनम दम्पत्तीको काठमाडौंमा रेष्टुरेन्ट खोल्ने योजना

    दोहा (कतार) । तपाईंलाई कसैले जन्मभूमि छाड्दै गर्दा के छुट्छ भनेर सोध्यो भने के भन्नुहुन्छ ? तपाईंको सोझो उत्तर हुनसक्छ : ‘घरपरिवार, माटो र परिवेश’ । तर विमानले टेकअफसँगै उचाइ लिँदै गर्दा मुलुकको जमिन र परिवेश मात्रै छुट्दैन, त्यससँगै यहाँको संस्कृति र रहनसहनसँगै ‘खाना’ पनि छुट्छ । जीवनको अभिन्न अंग बनेको मौलिक खानाको स्वाद छुटेको धेरैले थाहै पाउँदैनौँ । यसको महत्व त तबमात्रै हुन्छ, जब खानाको स्वाद जिब्रोले पाउन छाड्छ ।

    त्यसैले त देश छाड्ने धेरै नेपाली परदेशमा पनि नेपाली खाना खोज्दै टाढा-टाढासम्म पुग्छन् । दोहास्थित सनैयामा विगत २२ वर्षदेखि नेपाली र विदेशीलाई नेपाली खाना खुवाइरहेकी पुनम दाहाल पनि यो कुरामा सहमति जनाउँछिन् ।

    “सन् २०१९ मा हामी यूरोप घुम्न जाँदा नेपाली खानाको महत्व बुझ्ने मौका पायौँ, कतारमा दुई दशकभन्दा बढी समयदेखि चार लाख नेपाली र विदेशीलाई नेपाली खाना खुवाइरहेका हामीले यूरोप पुगेको केही दिनमै आफ्नो खाना ‘मिस’ गर्न थालिसकेका थियौँ”, उनले भनिन्, “त्यो समय हामीले बंगाली रेष्टुरेन्टको बिरयानीले नेपाली खानाको स्वाद मेट्ने प्रयास गरेका थियौ ।” आफ्नो खानाको महत्व बुझेका दाहाल दम्पत्तीले यतिबेला दोहामा बसेर नेपाली खानामार्फत नेपालको प्रबर्द्धन गरिरहेका छन् ।

    दाहालका शब्दमा विदेशमा हाम्रो खाना शरीरका लागि पोषण मात्रै होइन रहेछ, विदेशमा त यो हाम्रो पहिचान बन्ने रहेछ । पेट भर्न त जे खाए पनि हुन्छ । तर जति पोषिलो भए पनि मन भर्न आफ्नै खाना चाहिने रहेछ । आफ्नो खाना जस्तो अरुको नहुने रहेछ । उनका अनुसार खाना पर्यटन प्रबर्द्धनको पनि माध्यम बनेको छ । “यहाँ आउने विदेशीहरुले नेपाली ममः, ढिडो र नेपाली खानाको खुबै प्रशंसा गर्छन्, अझ दक्षिण भारतीय र फिलिपिनोहरु ममः भनेपछि हुरुक्कै हुन्छन्”, उनले सुनाइन्, “यही नेपाली परिकारबाट पनि नेपालको प्रबर्द्धन भइरहेको भन्ने लाग्छ ।”

    ललितपुरको भैँसेपाटीकी दाहाल श्रीमान पर्शुराम दाहालसँग कतार आएको सन् २००१ मा हो । संखुवासभाका पर्शुराम भने सन् १९९९ मै व्यापारकै लागि कतार आइसकेका थिए । पुनम भने सुरुमा घुम्नका लागि आएकी थिएन् । उनी यहाँ आएको करिव ३ वर्षपछि सन् २००३ मा दाहाल दम्पतीले दोहाको सनैयामा माउन्ट एभरेस्ट नाममा रेष्टुरेन्ट सुरु गरेका थिए ।

    सनैया कतारको प्रमुख औद्योगिक क्षेत्रमा पर्छ । सुरुमा स्ट्रिट नं ३३ बाट सुरु भएको रेष्टुरेन्ट व्यवसाय पछि स्ट्रिट नं १० र स्ट्रिट नं १२ सम्म माउन्ट एभरेन्ट नामबाटै रेष्टुरेन्ट सञ्चालन भयो । त्यसपछि सन् २०१० मा अलत्तियामा लालीगुँरास नामबाट रेष्टुरेन्ट सुरु गरिएको हो ।

    हाल एसियन टाउन प्लाजा सप नं २२६ मा सञ्चालन भइरहेको छ । रेष्टुरेन्ट भएको ठाउँ आसपासको अधिकांश क्षेत्रमा नेपाली श्रमिकहरु कार्यरत छन् । तर रेष्टुरेन्टमा आउने ग्राहकहरु नेपाली मात्रै नभइ भारतीय, बंगलादेशी, फिलिपिनोदेखि अफ्रिकन र कतारीसम्म हुने गरेका छन् । विदेशीहरु पनि नेपाली खाना निकै मन पराउँछन् ।

    दाहाल दम्पत्तीले दोहामा नेपाली खाना मात्रै सर्भ गरेका छैनन् । नेपाली खानामार्फत मुलुकको फूड कल्चर पनि पस्किरहेका छन् । पछिल्लो दुई दशकयता कतारको तीव्र गतिको विकाससँगै नेपाली खानाप्रतिको भोक जगाउन पनि रेष्टुरेन्टले ठूलो भूमिका खेलेको दाहालको बुझाइ छ । त्यसैले त लालीगुँरास रेष्टुरेन्टमा नेपाली खाना खानकै लागि टाढाटाढाबाट मानिसहरु आउने गरेका छन् ।

    “हामी आउँदा यहाँ एकाध बिल्डिङ मात्रै थिए, हेर्दा हेर्दै शहर गगनचुम्बी भवनले भरियो, सामान्य बाटा चिल्ला र फराकिला भए, यस्तो लाग्छ पछिल्लो दुई दशकमा विकास जति यही खनिएको छ । संसारका सुविधा जति यही देशले पाएको छ”, उनले भनिन् । त्यति मात्रै होइन शहरको विकाससँगै नेपाली खानाले पनि महत्व पाउँदै गएको छ । नेपाली खाना मन पराउने विदेशीहरु पनि बढ्दै गएका छन् ।

    “यहाँ नजिकै चार वटा चलचित्र हल छन्, ती हलमा आउने अधिकांश नेपाली र भारतीयहरु खाना खान यही आउँछन्”, उनले भनिन्, “उनीहरु नेपाली थाली, नेपाली खाजा सेट, छोइला, ममः र चाउमिन खुब स्वादले खान्छन् ।” उनको रेष्टुरेन्टमा शुद्ध नेपाली खाना लालीगुँरास स्पेसल, नेपाली शैलीको अचार, जिम्मुले झानेको दाल, कोदो र मकैको ढेडो बढी मन पराइने परिकारमा पर्छन् । उनीहरु खानासँगै नेपाल र नेपालीबारे पनि कुरा गर्छन् । नेपालको सुन्दरता प्रशंसा गर्छन् ।

    दाहालको अनुभवमा कतार व्यवसाय गर्न र बस्न निकै राम्रो ठाउँ हो । मुख्यगरी श्रीमानले व्यवसाय हेर्ने भए पनि उनी पनि हरेक दिन यसैमा काम गरिरहेकाले उनले कतारमा व्यवसाय सञ्चालनको सहजता नजिकबाट नियालेकी छन् । “कतारमा व्यवसाय गर्न सहज नै छ, सुरुआती वर्षमा त हाम्रो व्यवसाय निकै राम्रो व्यवसाय थियो, विश्वकपको समयसम्म व्यवसायले निकै उचाइ लियो, पछि कोरोना महामारीको समयमा केही खस्किए पनि अहिले भने फेरि राम्रो हुँदै गएको छ”, उनले भनिन् ।

    कोरोनाका कारण रेष्टुरेन्ट व्यवसायमा सामान्य असर गरे पनि कपडा पसल भने बिक्री गर्नुपर्ने अवस्था आइलाग्यो । “कोरोना महामारी सुरु हुनुअघि रेष्टुरेन्ट र कपडा दुवै सञ्चालन भइरहेको थियो । तर कोरोनाका कारणले कपडा पसल बिक्री गर्नुपर्यो” -उनले सुनाइन ।

    उनका अनुसार कतारमा रेष्टुरेन्ट मात्रै होइन अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि समस्या छैन । सिधा र इमान्दारिताका साथ काम गर्ने हो भने कहिल्यै पनि समस्या नहुने उनको बुझाइ छ । “श्रीमान नेपाल गएपछि अहिले म एक्लैले तीन महिनादेखि रेष्टुरेन्ट चलाइरहेकी छु । राति अबेर १ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गरेर घर जान्छु, कुनै समस्या छैन । यो सुरक्षाका हिसाबले पनि उत्कृष्ट छ”, उनले सुनाइन् ।

    कतारमा रेष्टुरेन्टको सफल व्यवसाय गरिरहेका दाहाल दम्पत्ती अब नेपालमा पनि रेष्टुरेन्ट खोल्ने कि भन्ने योजना बुँन्दै छन् । तर यसले अहिले नै मूर्तरुप भने लिइसकेको छैन । नेपालमा लगानी गर्दाका अवस्था, प्राप्त हुने सुविधा र लगानीका लागि आवश्यक स्रोत जुटाउन सहजीकरण भयो भने नेपालमा रेष्टुरेन्ट सुरु गर्ने सपना पनि छिट्टै पूरा हुने पुनमले सुनाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend