काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालिन न्याय निरुपणको गाँठा फुकाउनेगरी कानून बनेपनि कानून आफैँले न्याय नदिने उल्लेख गरे । उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै उनले संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताए ।
उनले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे । उनले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलिय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताए ।
उनले भने– ‘संक्रमणकालिन न्याय निरुपणका गाँठा फुकाउने गरी कानून त बन्ने भयो । तर कानून आफैँले न्याय दिने चाहीँ होइन । संरचना यसका लागि चाहिन्छ । र ति संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ । फेरिपनि राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला ।
तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन । आयोगलाई नाममा मात्र होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔँ भन्ने अपील राख्न चाहन्छु । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गर्न सकेको भए झनै राम्रो हुने थियो ।
मेलमिलापका लागि पीडक पक्षले पीडितलाई दबाब र प्रभावमा पार्ने खतरा जहिलेपनि रहन्छ । राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलिय स्वार्थ राख्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । यि दुवै विषयमा पूर्वसचेतना र सकारात्मक खबरदारी आवश्यक पर्दछ । सजाय छुटको प्रतिशतमा अदालतले सबैलाई समान न्याय कसरी गर्ला ? त्यसमा पनि चुनौती छ ।
पीडितलाई न्याय पाउँछु । पीडकलाई उन्मुक्ति हुन्न । र राज्य संरचनामा रहेकालाई कानुनभन्दा दायाँबायाँ गर्दिन भन्ने परिस्थिति बनाउन जे–जे गर्नुपर्छ, त्यो गरौँ भन्ने अपील गर्न चाहान्छु । आयोगले निष्कर्ष दिनु र अदालतले फैसला गर्नु मात्रै न्यायको रुपमा नबुझौँ ।’
सभापति लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने बताए । उनले संक्रमणकालिन न्याय निरुपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसदको चौथो शक्तिको रुपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरुलाई आग्रह गरे ।