
काठमाडौँ । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य छ । प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ ।
राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए । त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए ।
सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।
प्रतिनिधि सभाको आगामी बैठक भदौ ६ गते बिहीवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend