logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • विशाल र त्रिवेणी ग्रुपको साढे १६ अर्बमा निर्माणाधीन तल्लो सोलुको काम ९३ प्रतिशत सकियो

    विशाल र त्रिवेणी ग्रुपको साढे १६ अर्बमा निर्माणाधीन तल्लो सोलुको काम ९३ प्रतिशत सकियो

    1.8K
    Shares
    विशाल र त्रिवेणी ग्रुपको साढे १६ अर्बमा निर्माणाधीन तल्लो सोलुको काम ९३ प्रतिशत सकियो

    काठमाडौं । मुलुककै आधा दर्जन ठूला व्यवसायिक घरनाले सोलुखुम्बुमा निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाबाट अर्को वर्ष विद्युत उत्पादन हुने भएको छ ।

    आयोजनाको अहिलेसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको विकासकर्ता सोलु हाइड्रोपावर लिमिटेडले जनाएको छ । आयोजनाको अझै ७ प्रतिशत काम बाँकी छ ।

    व्यवसायिक घरना त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, जैन ग्रुप र वैद्य ग्रुपको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको छ ।

    आयोजना बनाउन १६ अर्ब ६४ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ३० लाख रुपैयाँ पुग्ने भएको छ । पहिला १५ अर्ब ८१ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बढेको छ । यसअघि प्रति मेगावाट लागत १९ करोड ३० लाख रुपैयाँ थियो ।

    कूल लागतमा ६० प्रतिशत स्वपुँजी (इक्विटी) र बैंकको ऋण ४० प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ । जसमा १० अर्ब रुपैयाँ स्वपुँजी आवश्यक पर्ने देखिएको छ । जसको ८० प्रतिशत लगानी भइसकेको छ । २० प्रतिशत साधारण सेयर (आइपिओ) बाट जुटाउने विकासकर्ता सोलु हाइड्रोपावरले जनाएको छ । नियामक नेपाल धितोपत्र बोर्डले स्वीकृति दिन गरेको ढिलाइले गर्दा आइपिओ निष्कासनमा ढिलाइ हुन गएको कम्पनीले जनाएको छ ।

    कम्पनीले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आइपिओ निष्कासनमा भएको ढिलाइका कारण आयोजनाको निर्माण अवधिको ब्याज (आइडिसी) बढ्ने देखिएको छ । आयोजना बनाउन सन् २०१४ डिसेम्बरमा विदेशी वित्तीय संस्था नेदरल्यान्ड डेभलपमेन्ट बैंक (डिइजी) र ओपेक फर इन्टरनेसनल डेभलपमेन्टसँग ऋण लगानी सम्झौता भएको छ ।

    स्थानीय बैंकको अगुवाइ प्राइम कमर्शियल बैंकले गरेको छ । प्राइमसहित ५ नेपाली बैंकले तल्लो सोलु आयोजनामा ऋण लगानी गरेका छन् । आयोजनामा नेपाली बैंकको नेतृत्व प्राइभ कमर्सियल बैंकले गरेको छ । जसअनुसार आयोजनामा एफएमओको ४ करोड ५० लाख डलर फिक्सड लोन र १ करोड डलर फोल्टिङ लोन रहेको छ । यस्तै डिइजीको २ करोड डलर फिक्सड र ५० लाख डलर फ्लोटिङ रहेको छ ।

    प्राइम कमर्सियल बैंकले ८० करोड, नेपाल एसबीआई बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ६० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

    यस्तै प्रभु बैंकको ५० र सिद्धार्थ बैंकको ४० करोड रुपैयाँ ऋण लगानी भएको छ । आयोजनाको बिजुली वर्षाको ८ महिना प्रति युनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । पाँच पटक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने पिपिएमा उल्लेख छ । पिपिएको ५५ प्रतिशत अमेरिकी डलरमा भएको छ ।

    यस्तै ४५ प्रतिशत नेपाली रुपैयाँमा भएको छ । पिपिए दर १ डलर बराबर ९८.६८ रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकूल भौगोलिक अवस्था पेनस्टकको अस्थिरताका कारण आयोजनाले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको थियो । यसले पेनस्टकको पूर्ण पुनः डिजाइन आवश्यक भयो । परिणामस्वरूप पर्याप्त लागत र समय बढ्यो ।

    कम्पनीको अध्यक्षमा सुभाषचन्द्र संघई छन् । यस्तै सञ्चालकमा विशाल अग्रवाल, विजयसिंह वैद्य, त्रिलोकचन्द्र अग्रवाल र आदित्य संघाइ रहेका छन् । आयोजनामा गोविन्दलाल संघइको ८.१६, नितिश अग्रवालको ७ र रामचन्द्र संघइको ४.९३ प्रतिशत हिस्सा छ ।

    भारतीय लगानीकर्ता एस्सल इन्फ्रा बाहिरियो

    वित्तीय संकट आएर टाट पल्टिएपछि जी ग्रुपअन्तर्गतको एस्सल इन्फ्रा प्रोजेक्ट लिमिटेडले सोलु हाइड्रोपावरमा रहेको आफ्नो सबै स्वामित्व बेचेर दुई वर्षअघि नै बाहिरियो । आयोजनामा नेपालीको स्वामित्वमा आएको छ ।

    त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानीमा ५४ मेगावाटको लिखु–४ आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । आयोजनाको विकासकर्ता ग्रीनभेन्चर्स लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिसकेको छ । यस्तै त्रिवेणी र विशाल ग्रुप मिलेर १ सय ६४ मेगावाट कालिगण्डकी आयोजना बनाउने तयारी गरेका छन् । आयोजना नदी प्रवाही (रन अफ दि रिभर) रहेको छ ।

    कम्पनीले सरकारलाई सबैभन्दा धेरै अग्रिम रकम (अफ फ्रन्ट कस्ट) प्रतिस्पर्धाबाट आयोजना निर्माणका लागि छानिएको हो । कम्पनीले २६ करोड रुपैयाँमा आयोजना खरिद गरेको हो ।

    गलत डिजाइनले आयोजना संकटमा

    आयोजनाले २०१९ बाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि कोरोना महामारी र सुरुङलगायत बजारमा आएको समस्याले ढिलाइ हुने भएको छ । आयोजनाको सिभिल ठेकेदार भारतको पटेल इन्जिनियरिङ लिमिटेड रहेको छ ।

    आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन भारतीय कम्पनीले बनाएको हो । भारतीय परामर्शदाताले डिजाइनै गलत बनाएपछि आयोजनामा अहिले समस्या आएको बताइएको छ । बैंकहरुले डिजाइनको पुनरावलोकन गर्न दिएको सुझाव कार्यान्वयन नगर्दा यस्तो अवस्थामा आएको बताइएको छ ।

    आयोजना २०७३ साउनदेखि निर्माण सुरु भएको हो। आयोजनाको सुरुङको लम्बाइ ४.२ किलोमिटर लामो रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend