
सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको बताइन् ।
प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
यता जल तथा मौमस विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको गरेको छ ।
त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्याएको हुन सक्नै भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।
यस्तै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend