काठमाडौं । पोखराका व्यवसायी कालु गुरुङले निर्माण गरिरहेका दुई अर्पाटमेन्ट परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । रोड शो इन्भेस्टमेन्ट कम्पनी प्रालिले पोखरामा अन्नपूर्ण अपार्टमेन्ट मासबार र अन्नपूर्ण लेकसाइड सेदी निर्माण गरिरहेको छ । जसअनुसार अन्नपूर्ण अपार्टमेन्ट मासबारको ९०.५० र अन्नपूर्ण लेकसाइड सेदी अपार्टमेन्टको ९७.६७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
रोड शोले १ अर्ब ५० करोड १० रुपैयाँ लगानीमा दुई अपार्टमेन्ट परियोजना निर्माण गरिरहेको हो । संस्थागत स्वपुँजी (इक्विटी) बैंकको ऋण र अपार्टमेन्ट खरिदकर्ताको अग्रिम लगानीबाट परियोजना निर्माण भइरहेको छ । गत असारसम्म रोड शोले अपार्टमेन्ट बुकबाट अग्रिम ८३ करोड ९० लाख रुपैयाँ ग्राहकबाट उठाइसकेको छ ।
अन्नपूर्ण अपार्टमेन्टमा ४० वटा घरहरु निर्माण भइरहेका छन् । यस्तै अन्नपूर्ण लेकसाइडमा पनि ६० वटा घर बनिरहेको कम्पनीले जनाएको छ । रोड शोको कूल १ सय युनिट अपार्टमेन्ट रहेका छन् । बिक्री क्षेत्रफल १ लाख ३२ हजार ३ सय ५५ वर्गफिट रहेको छ । रोड शोको ऋण पनि ४२ करोड २० लाख रुपैयाँबाट बढेर ७६ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीले ८८ करोड ६७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
रोड शो इन्भेस्टमेन्ट व्यवसायी गुरुङले सन् २००४ मा स्थापना गरेका हुन् । उनको कम्पनीमा शतप्रतिशत स्वामित्व छ । कम्पनी जग्गाको प्लटिङ गरेर बिक्री कारोबार गर्दै आएकोमा पछिल्लो समय कम्पनीले पोखरमा दुई हाउजिङ परियोजना एक साथ निर्माण थालेको हो ।
रियल इस्टेट क्षेत्रका लागि उपभोक्ताहरू थप विवेकशील हुँदै गएका छन् । नयाँ परियोजनाहरू सुरु गर्नुअघि उद्योगमा माग प्रवृत्तिले महत्वपूर्ण भूमिका खेल्छ । विकासकर्ताको ट्रयाक रेकर्ड, गुणस्तर, निर्माण र डेलिभरी टाइमलाइनहरू महत्वपूर्ण पक्षहरू हुनेछन् ।
सरकारी आर्थिक सर्वेक्षणले कुल मागमा आएको गिरावटका कारण घरजग्गाको वृद्धि सुस्त रहेको देखाएको छ ।
कर्जा प्रवाहमा आएको सुस्तता र उच्च ब्याजदरका कारण विगतमा घरजग्गा कारोबार बढेको हो । घरजग्गाको खरिद बिक्रीमा कमी आएको छ ।
निजी आवासको वृद्धिले घरजग्गा कारोबार सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि हुने भएको छ । व्यवसायी गुरुङ अन्नपूर्ण केबुलकार, रोड शो रियलइस्टेट र माछापुच्छ्रे ब्रिक फ्याक्ट्रीको अध्यक्ष हुन् । उनको जग्गा प्लटिङ, बिक्री र हाउजिङ बनाउने रोड शो रियलइस्टेट पनि सञ्चालनमा छ ।