logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्राधिकरणले यो वर्ष २५ अर्बको बिजुली भारत निर्यात गर्ने

    प्राधिकरणले यो वर्ष २५ अर्बको बिजुली भारत निर्यात गर्ने

    651
    Shares
    प्राधिकरणले यो वर्ष २५ अर्बको बिजुली भारत निर्यात गर्ने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्ष भारतलाई बिजुली बेचेर खुद निर्यातकर्ता बनेको प्राधिकरणले चालू आर्थिक वर्षमा सो रकम बराबरको बिजुली निर्यात गर्ने लक्ष्य लिएको हो ।

    गत वर्ष प्राधिकरणले १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै विद्युत् उत्पादन घट्दा गत आर्थिक वर्ष भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ ।

    गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत निर्यात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँगै अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताएका छन् ।

    ‘स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप २ सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौं, कार्यकारी निर्देशक घिसिङले भने ।

    उनले अब विद्युत निर्यातको परिमाण बढ्दै जाने बताए । चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको उनले सुनाए । प्राधिकरणले भारत हुँदै बंगलादेशमा पनि ४० मेगावाट बिजुली निर्यात गर्दै छ । अहिले त्यहाँको राजनीतिक परिवर्तनका कारण रोकिएको छ ।

    नेपालले द्धिपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २ सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न प्राधिकरणलाई स्वीकृति दिएको हो ।

    आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु प्राधिकरणले व्योहर्नु पर्दैन ।
    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

    भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री हुने भएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा कुल विद्युतको जडित क्षमता वृद्धि भई ३१ सय ५६ मेगावाट पुगेको छ । जसमध्ये जलविद्युत २९ सय ९०, सोलार १ सय ७, को–जेनेरेसन ६ र थर्मल ५३.४ मेगावाट विद्युत जडित क्षमता रहेको छ ।

    यो पनि :

    भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने, निर्यात ९४१ मेगावाट पुग्ने

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend