
काठमाडौं । नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतको बिहार र हरियाण राज्यलाई बेच्न लागेको बिजुलीको मूल्य प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । सोमबार नेपाल विद्युत प्राधिकरणले भारत सरकारबाट थप २ सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १ सय २५.८९ मेगावाट र बिहारलाई १ सय २५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न प्राधिकरणलाई स्वीकृति दिएको हो ।
१० जलविद्युत आयोजनाहरुबाट उत्पादित १ सय २५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १ सय २५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने छ । प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु प्राधिकरणले बेहेर्नु पर्ने छैन ।
११.६४ मेगावाटको दोर्दी– १, १४.४५३ मेगावाटको मायाखोला, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारमा निर्यात हुनेछ ।
बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ । ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १२५.८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend