logo

२०८१ भाद्र २९ शनिबार

logo
  • शनिबार, २९ भाद्र २०८१
  • दाना खोला जलविद्युत आयोजना : सानिमा बैंकको अगुवाइमा साढे ७ अर्ब लगानी, चार वर्षमा सक्ने लक्ष्य

    दाना खोला जलविद्युत आयोजना : सानिमा बैंकको अगुवाइमा साढे ७ अर्ब लगानी, चार वर्षमा सक्ने लक्ष्य

    518
    Shares
    दाना खोला जलविद्युत आयोजना : सानिमा बैंकको अगुवाइमा साढे ७ अर्ब लगानी, चार वर्षमा सक्ने लक्ष्य

    काठमाडौं । निजी लगानीमा स्थापना भएको लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण थालेको छ । आयोजना बनाउन सानिमा बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ ।

    आयोजनामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण लगानी गर्ने सहमति भएको कम्पनीका अध्यक्ष मोहन डांगीले सुनौलो नेपाललाई बताए । दसैंअघि नै बैकहरुसँग ऋण लगानी सम्झौता हुने उनले जानकारी दिए ।

    आयोजना बनाउन कूल ९ अर्ब ९६ करोड रुपैयाँ लाग्ने भएको छ । जसमध्ये बैंकहरुले ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । २ अर्ब ४९ करोड रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ ।

    आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक लालुपाते हाइड्रो पावर र विद्युत प्राधिकरणबीच गत मंसिर ७ गते विद्युत खरिद सम्झौता (पिपिए) भएको हो ।

    पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गरेका छन् ।

    प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी पिपिए भएको छ । प्राधिकरणले आयोजनाका लागि विद्युत उत्पादनको समय २०८४ कात्तिक २ गते तोकेको छ ।

    मनाङको नासो गाउँपालिकामा पहिचान भएको आयोजनाको सिभिल संरचनाअन्तर्गत आवास तथा पहुँचमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको कार्यकारी अध्यक्ष डाँगीले जानकारी दिए । उनका अनुसार आयोजनास्थलको लागि विद्युतगृहसम्म जाने बाटो खनि सकिएको छ ।

    अहिले विद्युतगृहदेखि इन्टेकसम्म बाटो खन्ने काम भइरहेको छ । यस्तै कर्मचारी आवास र सेनाको क्याम्प बनाउने काम अन्तिम चरणमा पुगेको उनले सुनाए । ९ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक ३० करोड २२ लाख ७० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ ।

    विद्युत उत्पादनका लागि दाना खोलाको पानी फर्काइ बनाइने बाँधको कूल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । अध्ययनअनुसार मुख्य सुरुङ ३ हजार २ सय ३९ मिटर हुने तथा विद्युतगृह भूमिगत रहने प्रस्ताव गरिएको छ ।

    आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ । आयोजनामा स्थानीयबासिन्दाको सहयोग राम्रो भएको उनले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend