logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • विश्वकै लामो मुक्तिनाथ केबुलकारले पुँजी बढाएर १५ अर्ब पुर्याउने, आइपिओ ल्याउन पब्लिक लिमिटेडमा परिणत

    विश्वकै लामो मुक्तिनाथ केबुलकारले पुँजी बढाएर १५ अर्ब पुर्याउने, आइपिओ ल्याउन पब्लिक लिमिटेडमा परिणत

    2K
    Shares
    विश्वकै लामो मुक्तिनाथ केबुलकारले पुँजी बढाएर १५ अर्ब पुर्याउने, आइपिओ ल्याउन पब्लिक लिमिटेडमा परिणत

    काठमाडौं । नेपालमा बन्न लागेको विश्वकै लामो केबुलकारको विकासकर्ता मुक्तिनाथ दर्शन साधारण सेयर (आइपिओ) निष्कासन गर्न पब्लिक लिमिटेडमा परिणत भएको छ । केबुलकार परियोजना बनाउन मुक्तिनाथले ४५ प्रतिशतसम्म आइपिओ निष्कासन गर्ने बताएको छ ।

    यस्तै कम्पनीको पुँजी साढे २ अर्बबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने तयार गरेको मुक्तिनाथ दर्शन लिमिटेडका अध्यक्ष अरुणकुमार सुवेदीले सुनौलो नेपाललाई बताए । उनले टेलिकमको हाराहारीमा कम्पनीको पुँजी पुग्ने जानकारी दिए । आगामी साधारणसभाबाट कम्पनीको पुँजी वृद्धि योजना पारित गर्ने उनले जानकारी दिए ।

    मुक्तिनाथ केबुलकारको लम्बाइ ८० किलोमिटर लामो छ । लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको छ । वन मन्त्रालयले वातावरणीय प्रतिवेदन (इआइए) स्वीकृत नगर्दा परियोजनाको काममा अवरोध आएको छ । मुक्तिनाथले वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन पेश गरेको ६ महिना भइसकेको छ ।

    केबुलकार पूर्वाधार बनाउन २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले लगानी गर्ने भएको छ । भारतको के एन्ड आरले केबुलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित गरेको छ । इआइए स्वीकृति ढिलाइका बारेमा भारतीय कम्पनीले बारम्बार प्रश्न गरिरहेको उनले सुनाए ।

    मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र इन्भेस्टमेन्ट (इपिसिएफ) मोडलमा बनाउन लागिएको हो । ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लाग्ने छ । समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ । आयोजना विकास सम्झौता (पिडिए) गर्न बाँकी छ ।

    लगानी जुटाइसकेको प्रस्तावित विश्वकै सबैभन्दा लामो केबुलकार निर्माता मुक्तिनाथ दर्शनले अपडेट गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लगानी बोर्डमा बुझाएको छ ।

    इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना हो । सरकारले तीन वर्षअघि बजेटमा ठूला परियोजना इपिसिएफ मोडलबाट बनाउने बजेटमा ल्याएको थियो ।

    ८० किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको छ ।

    २ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकाको स्वपुँजी लगानी हुने भएको छ । शिलान्यास भएको मितिले बढीमा ४ वर्षभित्र केबुलकार निर्माण सकिने छ ।

    केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ।

    कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ ।

    यस्तै केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर, पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ।

    वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । केबुलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ ।

    यो पनि :

    मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

    ५५ अर्ब लगानी रहेका विश्वकै लामो मुक्तिनाथ केबुलकार निर्माण सुरु

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend