काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई सुरक्षा दिन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रार सुरक्षाको कारण देखाउँदै कार्यालयमा अनुपस्थित भएको भन्दै उनीहरुलाई सुरक्षा दिन सरकारसँग माग गरेका हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु के कारणले असुरक्षित भएका हुन भन्ने कारण जानकारी गराउन पनि माग गरे । उनले राजनीतिक समस्या भए वार्ताद्वारा हल गर्न र अपराधजन्य समस्या भए कानुनी प्रक्रियाबाट नियन्त्रण गर्न आग्रह गरे ।
उनले भने – ‘यतिबेला त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सुरक्षाको कारण देखाउँदै कयौँ दिनदेखि कार्यालयमा उपस्थित हुन सक्नुभएको छैन । सत्य के हो ? हामीले थाहा पाउनुपर्छ । त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ ? सरकार छ कि छैन ? सरकार छ भने त्रिभुवन विश्वविद्यालयमा सुरक्षा दिनुपर्यो ।
समस्या के हो ? यदि राजनीतिक समस्या हो भने वार्ताद्वारा हल गर्नुपर्यो । यदि अपराधजन्य समस्या, गुण्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्यो । कुनैपनि हालतमा त्रिभुवन विश्वविद्यालयमा असुरक्षा छ भनेर यस्तो लज्जास्पद कुरा गर्न पनि सुहाउँदैन ।’
सांसद दाहालले विपि राजमार्गमा धेरै दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको भन्दै विपि राजमार्गमा तत्काल सुरुङमार्ग निर्माण कार्य अगाडी बढाउन पनि माग गरे ।