काठमाडौं । कर छलीको आरोपमा १६ वर्ष बन्द भएर सञ्चालनमा आएको श्री डिष्टिलरी लिमिटेड अहिले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने अवस्था आएको छ । उद्योगले कुल ६० लाख कित्ता सेयर मध्ये १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न प्रक्रिया अघि बढाइएको छ ।आइपिओ निष्कासन प्रयोजनका लागि श्री डिष्टिलरी २०२२ मा पब्लिक लिमिटेडमा परिणत भएको हो । आइपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
सन् १९८६ मा मथुरा मास्केले श्री डिष्टिलरीको स्थापना गरेका हुन् । ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छलेको आरोपमा २०६१ देखि उद्योग बन्द भएको थियोे । सन् २०२१ देखि उद्योगको व्यवस्थापन क्याप्टेन रामेश्वर थापा र सनत न्यौपाने लिएपछि सञ्चालनमा आएको छ । थापा जलविद्युत, एयरलाइन्स र मिडिया व्यवसायी हुन् ।
नयाँ व्यवस्थापनले लिएपछि उद्योगले आफ्नो सञ्चालनलाई पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ । श्री डिष्टिलरीको ९० प्रतिशत स्वामित्व थापा र कार्कीले किनेका छन् । बाँकी १० प्रतिशत सेयर सनत न्यौपानेले पाएका छन् । आइपिओ निष्कासन सम्झौतामा हस्ताक्षरपछि उद्योगका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकाले कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताएका थिए ।
प्रतिस्पर्धात्मक रूपमा बजारमा पुनः प्रवेश गर्न प्रारम्भिक चरणहरूलाई ध्यानमा राख्दै यो कति प्रभावकारी हुन्छ हेर्न बाँकी छ । व्यापार विस्तार गर्दै व्यवस्थापनले विभिन्न युपीअन्तर्गत नयाँ ब्रान्डहरू सुरू गर्ने लक्ष्यहरू प्राप्त गर्न सक्ने देखिएको छ ।
यो वर्ष उद्योगको मदिरा व्यापार १ सय २१ प्रतिशत बढेर १८ करोड १० लाख रुपैयाँ पुगेको छ । २०२३ मा उद्योगले ८ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो । यस्तै २०२२ मा ३० लाख रुपैयाँ मदिरा व्यापार गरेको श्री डिष्टिलरीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । व्यवस्थापन परिवर्तन भएपछि उद्योगले मदिरा व्यापार बढाउँदै लगेको छ । व्यापार बढे पनि उद्योग घाटामा रहेको छ । उद्योगले विभिन्न युपी क्षमताका नयाँ मदिरा उत्पादन थाल्ने योजना बनाएको छ ।
उद्योग नबलपरासीको अरुण खोलामा १० विगाह जमिनमा रहेको छ । श्रीसँग डिस्टिलरी र स्पिरिट उत्पादन इजाजतपत्र छ । उद्योगसँग वार्षिक ४८ लाख ६० हजार लिटर मदिरा उत्पादन क्षमता छ । अहिले उद्योगले ७० युपी क्षमताको मदिरा उत्पादन गर्दै आएको छ । योसँगै उद्योगको वार्षिक ८ लाख किलोलिटर मदिरा उत्पादन इजाजत रहेको छ । उद्योगले उच्च गुस्तरका ४०, ३० र २५ युपी भएका उच्चस्तरका ब्रान्डहरू ल्याउने योजना बनाएको छ ।
आगामी वर्षहरुमा श्रीले प्रमुख ब्राण्ड माउन्ट एभरेस्ट ह्विस्की बजारमा ल्याउने भएको छ । प्रस्तावित आइपिओले कम्पनीको भविष्यका सम्भावनाहरू निर्धारण गर्ने छ । उद्योगको क्षमता उपयोग ३७ बाट बढेर ७२ प्रतिशत पुगेको छ । बढ्दो क्षमता उपयोगले उद्योगको आम्दानी वृद्धिमा योगदान गर्ने भएको छ । उद्योग अहिले ऋणमुक्त छ ।
प्रमुख ब्राण्ड माउन्ट एभरेस्ट र गोर्खाली रम श्री डिष्टिलरीको प्रमुख सम्पत्ति हो । उद्योगसँग स्वदेशी ह्विस्की र रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड छन् । कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरुमा किंग्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसीस एक्स्ट्रा ड्राइ, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुनलगायत उत्पादनहरु थिए ।
उद्योगका हालका ब्रान्डहरुमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन् । यस्तै कम्पनीले चाँडै नै ओएसीस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको छ ।
किंग्स प्राइड र माउन्ट एभरेष्ट ह्विस्की विदेशी मदिरा क्षेत्रका प्रिमियम ब्रान्डहरू हुन् । माउन्ट एभरेष्ट ह्विस्की पनि जर्मनीमा निकासी भइरहेको छ ।
यसरी बन्द भएको थियो डिष्टिलरी
२०५५ सालमा सबैभन्दा धेरै कर तिरेको श्री डिष्टिलरी २०५६ सालदेखि कर छली सुरु गरेको थियो । २०५६ सालमा मदिरा बनाउने कच्चा पदार्थ नष्ट भएको भन्दै लेखा परिक्षणमा देखाएर ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छली गरेको आरोप लागेको थियो । २०५८ सालमा मुद्दा परेपछि छानविन भयो ।
कर विभागले असुल गर्ने निर्णय गरेपछि २०६१ सालदेखि उद्योग बन्द भयो । आन्तरिक राजस्व विभागले ताला लगाएपछि सो उद्योग १६ वर्षदेखि बन्द रहेको थियो । श्री डिष्टिलरीले अहिलेसम्म आन्तरिक राजस्व विभागले निर्धारण गरेको ८७ करोड कर तिरेको छैन । कर नतिरी उद्योग सञ्चालनमा आएको छ ।
श्री डिस्टीलरीका अध्यक्ष मथुराप्रसाद मास्के थिए । उनको २०७० साल असार १० गते निधन भइसकेको छ । आर्थिक वर्ष २०५५५६ मा सरकारलाई सबैभन्दा बढी राजस्व बुझाएर मास्के पुरस्कृत भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५५ सालमा ५० हजार क्विन्टल खुदो हिनामिना गरी राजस्व छलेको थियो भन्दै कारबाही गर्न २०६१ सालमा आन्तरिक राजस्व विभागलाई आदेश दिएको थियो ।
अख्तियारले पत्रपछि आन्तरिक राजस्व कार्यालयले काठमाडौँ प्रहरीलाई पक्राउ गर्न पत्र काटेको थियो । २०६१ पुस २३ गते मास्के नाममा रहेको सबै चलअचल सम्पत्ति रोक्का भएको थियो । श्री डिस्टिलरीलाई ५० हजार क्विन्टल मोलासेसबाट २ लाख ४६ हजार बाकस उच्च गुणस्तरको मदिरा उत्पादन गरी बिक्री गरेको अनुमान लगाएर विलम्ब शुल्कसमेत ८७ करोड २९ लाख ७९ हजार २ सय रुपैयाँ र ६ महिना कैद सजायको निर्धारण आन्तरिक राजस्व कार्यालय भरतपुरले २०६२ साल वैशाख ११ गते गरेको थियो ।
मास्केको पुरै सम्पत्ति राज्यले रोक्का गरेर राखेको बेला श्री डिष्टिलरी बिक्री भएको छ ।