बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

‘टाटा पन्च’ आएपछि इभी बजारमा हाम्रो पोजिसन झनै बलियो हुनेछ

‘टाटा पन्च’ आएपछि इभी बजारमा हाम्रो पोजिसन झनै बलियो हुनेछ

सिप्रदी ट्रेडिङ प्रालि नेपालमा भारतको टाटा गाडी ल्याएर बेच्ने पुरानो कम्पनी हो । सिप्रदीले ४२ वर्षदेखि नेपालमा टाटा गाडी बिक्री गर्दै आएको छ । नेपालमा एकछत्र राज गरेको सिप्रदीले पछिल्लो समयमा बजारका मागअनुसार इभी गाडी पनि ल्याउन थालेको छ । कम्पनीले टाटाका पाँचवटा इभी ब्राण्ड नेपाली बजारमा ल्याइसकेको छ । यि सबै इभी गाडी ग्राहकको रोजाइमा परेका छन् । आउँदो अटो शोलाई लक्षित गर्दै सिप्रदीले मिडसाइज एसयुभी पन्च इभी सार्वजनिक गर्दै छ । नेपालको अटो बजारको अवस्था र भावी योजनाबारे केन्द्रीत रहेर सिप्रदीका सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर सावन्तजंग सिजापतीसँग सुनौलो नेपालले गरेको अटो सम्वाद  :

गाडीहरुको कुम्भ मेला भनेर चिनिने नाडा अटो शो आयोजना हुँदै छ । यसपाली सिप्रदी अटो शोको ‘टाइटल स्पोन्सर’ पनि बनेको छ । नयाँ इलेक्ट्रिक गाडी (इभी) लन्चको तयारी कस्तो छ ?

यसपालीको अटो शोमा दुई वटा नयाँ इभी गाडी सार्वजनिक गर्ने तयारीमा छौं । गत वर्षको नाडा अटो शोमा टियागो इभी गाडी सार्वजनिक गरेका थियौं । यो गाडी धेरैले रुचाइदिनु भयो । यसपाली पनि यसलाई अटो शोको डिस्प्लेमा राख्ने छौं । अर्को नेपालको अटो बजारमा बहुप्रतिक्षित टाटा पन्च जसलाई धेरैले कुरिरहनु भएको छ । यसलाई अटो शोमा लञ्च गर्ने भएका छौं ।

टाटा पन्चको मुलुकभरी परीक्षण भइरहेको छ । अटो शोमा पन्चको मूल्य, फिचर र प्रोडक्टलाई शोकेस गर्ने छौं । पन्चको प्रिबुकिङ सुरु भइसकेको छ । अगस्टको १२ तारिखदेखि प्रिबुकिङ सुरु गरिसकेका छौं । औपचारिक सार्वजनिक भने नाडा अटो शोमा गर्ने छौं ।

अन्य इभी भन्दा पन्चमा फरक फिचर्स के छ ?

पन्च मिड साइज कम्प्याक्ट एसयूभी गाडी हो । बिग सनरुफ भएको एसयूभी गाडी चाहिएको छ । त्यसलाई क्याटर गर्न हामीले पञ्च इभी ल्याएका हौं । पन्च साना ह्याचब्याग एसयूभी भन्दा एक तह माथिको गाडी हो । टाटाले प्योर इभी प्लाटफर्मममा बनाएको गाडी हो । यसको प्राविधिक हिसावले अन्य गाडीसँग प्रतिस्पर्धा गर्न सक्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा ग्राहकले पन्च किन्दा तपाईंले के पाउनु हुन्छ ? भन्ने प्रश्नमा हामी भन्छौं पन्च किन्दा सिप्रदी पाउनु हुनेछ ।

सिप्रदीले ४२ वर्षदेखि नेपाली बजारमा टाटा मोटरका विभिन्न ब्राण्डका गाडी बिक्री वितरण गर्दै आएको छ । सिप्रदी नेपालको टाटा गाडीको मार्केट लिडरको रुपमा काम गरिरहेको छ । मुलुकभरी यसको ठूलो सञ्जाल छ । स्पेयर पार्टस, सर्भिसिङ र चार्जिङका लागि सबैभन्दा ठूला नेटवर्क बनाउन सफल भइसकेको छ ।

ब्याट्री प्रविधिका साथै इभीमा नयाँ एउटा फिर्चर अडास आइरहेको छ । सो फिचर्सयुक्त गाडी पन्च हो । नेपालको इभी सेग्मेन्टमा बहुचर्चित गाडी नेक्सन हो । पन्च इभी यो भन्दा सानो र टियागो भन्दा माथिको हो । टियागो र नेक्सनका बीचमा जुन ग्याप थियो त्यसको पूर्ति पन्चले गरेको छ । मूल्य टियागो भन्दा माथि र नेक्सन भन्दा कम बीचको रेन्जमा हुन्छ ।

यि दुई बाहेक अटो शोमा अरु कुन इभीलाई फोकस गर्दै हुनुहुन्छ ?

हामीले मुख्य फोकस गरेको यी दुईटा गाडी हो । अहिले नेपाली अटो बजार इभीमा सिफ्ट भइसकेको छ । त्यसैले गर्दा यो अटो शोमा दुईटा इभी गाडी सार्वजनिक गर्ने सोच बनाएका छौं ।

आउदो अटो शोमा धेरै इभी गाडी बुकिङ हुने संभावना देखिएको छ । यसमा टाटाको अवस्था के रहनेछ ?

बुकिङ अहिले पनि भइरहेको छ । अटो शोमा गाडी हेरिसकेपछि ग्राहकलाई बुकिङ गर्न उत्साह थपिन्छ । लिने निश्चित गर्नुभएका ग्राहकले अहिलेदेखि नै बुक गरिरहनु भएको छ । अटो शोमा आएर अन्य कम्पनीका गाडीसँग तुलना गरेर फिचर्स हेरौं , परिवारसँग सल्लाह गरौं, अन्य इभी गाडीसँग तुलना गरौं र टेस्ट ड्राइभ गरौं भन्ने ग्राहक अटो शोमा आउनु हुन्छ ।

पन्च इभी जुन सेग्मेन्ट र प्राइस रेन्जमा आउँदै छ । मिडसाइज इभीको संभावना उच्च भएकाले यो वर्षको अटो शोमा गत वर्षको भन्दा राम्रो हुने देखिएको छ । गत वर्ष हामीले टियागो लन्च गरेका थियौं । यसमा राम्रो गरेका थियौं । यसपालीको पन्चले त्यो भन्दा राम्रो गर्नेछ । यसका लागि हामी तयार छौं । सबै तयारी पुरा भइसकेको छ । अर्को साता गाडी लन्च गर्ने छौं ।

अहिलेसम्म कतिवटा पन्च इभी ल्याइसक्नु भएको छ ?

हामीले दुईटा पन्च इभी ल्याएर पूर्वदेखि पश्चिमसम्म टेस्ट ड्राइभ गरिसकेका छौं । यो बाहेक बुक गरेका ग्राहकलाई दिन पहिलो लटको पन्च आइसकेको छ ।

बुक गरेको कति दिनमा गाडी दिनुहुन्छ ?

कति दिनमा भन्दा पनि ग्राहकले जति छिटो कागजातको काम सक्नु हुन्छ त्यति नै चाँडो गाडी दिने छौं । झण्डै ९० प्रतिशत गाडी खरिदबिक्री बैंकबाट हुने गरेको छ । बुक गरिसकेपछि पैसाका लागि बैंकको प्रक्रिया पुरा गर्नुपर्छ । बैंकले ऋण स्वीकृत भयो दिनु भनेर पत्र दिएपछि तत्काल गाडी दिन सक्छौं । प्लानिङ र प्रोसेसिङमा सिप्रदी सधैं अगाडी छ ।

सिप्रदीको फोकस अब इभी गाडीमा हो ?

त्यस्तो हैन । हामी व्यापारिक कम्पनी भएकाले बजारको मागअनुसारको गाडी ल्याउनुपर्छ । आजको दिनमा बजारको सेन्टिमेन्ट विस्तारै इभीतिर गएको देखिएको छ । त्यसैले हाम्रो फोकस र कन्र्सरटेसन पनि अली बढी इभी गाडीमा छ । हामीले स्रोत पनि सोहीअनुसार इभीमा व्यवस्थापन गरेका छौं । सिप्रदी आफै ठूलो संस्था भएकाले राम्रो रिसोर्स छ । पेट्रोल डिजेलबाट चल्ने इन्टरनल कम्बस्टन इन्जिन ( आइसिइ) गाडीलाई हामी पुरै छाड्दैनौं र छोड्न पनि हुन्न ।

आइसिइको पनि नेपालमा बजार राम्रो छ । हो, पछिल्ला समय आइसिइको बजार घट्दो क्रममा छ । त्यो भन्दै गर्दा राम्रो बजार आइसिइको भएकाले हामीले यसमा फोकस घटाएका छैनौं । आइसिइमा छुट्टै जनशक्ति भएकाले यसलाई हामीले अझ सशक्त रुपमा अघि बढाउँदै छौं ।

अटो शो इभी गाडीमा फोकस भएकाले बढी जोड दिएका छौं । आइसिइका लागि पनि नयाँ प्रोडक्ट छ । जे प्रोडक्ट इभीमा छ, आइसिइमा पनि त्यस्तै नयाँ गाडी हामीसँग उपलब्ध छ ।ग्राहकको रुचीअनुसार हामीसँग इभीदेखि आइसिइका विभिन्न भेरियन्टका गाडी उपलब्ध छ । ग्राहकलाई छान्ने अवसर सिप्रदीमा छ ।

आइसिइमा अग्रणी कम्पनी सिप्रदी अन्य प्रतिस्पर्धीको तुलनामा पछि परेको देखियो, किन होला ?

त्यसरी हेर्न मिल्दैन । हाम्रो बिजनेस वर्ष अप्रिलबाट सुरु भएर मार्चमा सकिन्छ । जुन वर्ष हामीले पहिलो पटक नेक्सन इभी भित्र्यायौं, त्यो वर्ष सबैभन्दा बढी बिक्री हुने गाडी नेक्सन इभी भएको छ । बिक्रीका हिसावले हामी पहिलो नम्बर भयौं । दोस्रो वर्ष टियागो पनि ल्यायौं । यसमा पनि हामीले ठूलो सफलता पायौं । हामीसँग नेक्सन इभी, टियागो र टिगोर पनि छ । टियागो ल्याएको वर्ष पनि हामी पहिलो नम्बर नै भयौं ।

अहिले हामी इभीको तेस्रो वर्षमा छौं । तेस्रो वर्षको पनि भर्खरै अगस्टमा छौं । अगस्टसम्म आइपुग्दा हामीले नयाँ गाडी ल्याएका थिएनौं । पन्च इभी अटो शोमा लन्च गरिसकेपछि पनि पहिलो स्थानमा हुनेछौं । त्यो बाहेक दोस्रो हुने अप्सन सिप्रदीलाई छैन् । सिप्रदीले गाडी बिजनेस पहिलो स्थानमा बसेर गरिरहेको छ । आगामी दिनमा पनि पहिलो नै हुनेछ । विगतमा कमर्शियल भेहिकलमा सिप्रदी पहिलो नम्बरको कम्पनी हो ।

इभीमा पनि पहिलो नम्बरमा नै छौं । अब पन्च आएपछि इभीमा हाम्रो पोजिसन झनै बलियो हुनेछ । हामीसँग टियागो, टिगोर, नेक्सन र पन्च इभी हुनेछ । त्यो बाहेक हामीसँग ट्याक्सी बिजनेसका लागि एक्सप्रेस टी भन्ने छुट्टै इभी गाडी पनि बजारमा छ । हामीसँग अहिले पाँचवटा मोडलका इभी छन् ।

एक्सप्रेस टी ट्याक्सी बिजनेसका लागि मात्र हो ?

एक्सप्रेस इभीको फोकस ट्याक्सीका लागि मात्र हो । यसलाई प्राइभेट नम्बर प्लेटमा बेचेका छैनौं । ट्याक्सी बिजनेसमा आएपछि रातो नम्बर प्लेट राखेर चलाउनलाई सोच्नुपर्छ । त्यसैले व्यक्तिगत प्रयोजनका लागि बेच्दैनौं । गाडी राम्रो छ । एक्सप्रेस किन्नेले राम्रो प्रतिफल पाउनु भएको छ ।

एक्सप्रेस काठमाडौं उपत्यकाका लागि मात्र हो । इभी ट्याक्सीका लागि बालकुमारीमा एक्सक्लुसिभ वर्कसप सञ्चालनमा आइसकेको छ । त्यो बाहेक हामी यो साता राजधानीको अर्को ठाउँमा इभी ट्याक्सीका लागि नयाँ वर्कसप तयार गरिसकेका छौं । सिप्रदीले राजधानीका दुई स्थानबाट वर्कसप सेवा दिनेछ । पूर्वाधार तयार भइसकेकाले फूल सर्भिस दिनेछौं ।

टाटा मोटर्सले साना इभी गाडी त बनाइसकेको छ । बस र ट्रक जस्ता ठूला इभी गाडी बनाउने तयारी गरेको छ ?

यसको संभावना देखिएको छ । विस्तारै प्रविधि विकास हुँदै जाँदा ठूला इभी गाडी बन्ने देखिएको छ । कति चाँडो र ढिलो भन्ने कुरा हो । टाटा भारत र नेपाल दुबै मुलुकमा पहिलो नम्बरमा छ । अनुसन्धान तथा विकास टिम (आर एन्ड डी) सशक्त छ । ठूला गाडी पनि इभीमा जाने तयारी टाटाले गरिसकेको छ । केही तहमा केही कुरा भएको छ । बजार तयार भएपछि आउनेछ ।

केही वर्षभित्र काठमाडौंलगायतका अन्य सहर इभी गाडीमय बन्ने अवस्था देखिएको हो ?

हो, यो राम्रो कुरा हो । यसको अगुवा सिप्रदी नै हुनेछ । मासमा जाने पहिलो कम्पनी सिप्रदी नै हो । २०२१ को जुलाइमा नेक्सन इभी लन्च गर्नुअघि पूर्वाधारमा ठूलो लगानी गरिसकेका थियौं । इभी गाडी आउनुअघि १४ वटा वर्कसप र १५ वटा चार्जिङ स्टेशन तयार भइसकेको थियो । आजको दिनमा बढाएर चार्जिङ स्टेशन २६ र वर्कसप १७ वटा पुगिसकेको छ । तयारी र पूर्वाधारमा लगानीको कुरा गर्दा सिप्रदी सबैभन्दा अगाडी छ ।

सिप्रदीले टाटाको पाँचवटा इभी ब्रान्ड ल्याइसकेको छ । चार्जिङ स्टेशन अहिले मुख्य समस्या देखिएको छ । यस विषयमा सिप्रदीले के सोचेको छ ?

अहिलेसम्म हामीले सिटी इभी कार मात्र बेचिरहेका छौं । हाइवेमा लिएर जान पनि सकिन्छ । ९० प्रतिशत बढी सिटी एरियामा चल्ने गरेको छ । पोखरा, काठमाडौं र नारायणघाटलगायत अन्य शहरी क्षेत्रमा किन्दा त्यहीभित्र मात्र चल्ने गरेको छ । उहाँहरुले एसी चार्ज राखेर आफ्नै घरमा गाडी चार्ज गर्नुहुन्छ । कहिलेकाही हाइवेमा इभी लिएर यात्रा गर्नुहुन्छ । हामीले हरेक १०० किलोमिटरको दुरीमा चार्जिङ स्टेशन राख्ने योजना बनाएका थियौं ।

अहिले बढाएर हरेक ७५ किलोमिटर दुरीमा राख्न लागेका छौं । यसको दोस्रो चरणमा छौं । तेस्रो चरणमा पुग्दा हरेक ७५ किलोमिटरबाट ५० मा चार्जिङ स्टेशन राख्ने छौं । गाडीको बिक्री र त्यसपछि ग्राहकरुलाई दिने सेवा सुविधाका लागि आवश्यक पूर्वाधार एकसाथ अघि बढाइरहेका छौं । आजको दिनमा २६ वटा चार्जिङ स्टेशन राखिसकेका छौं भने नेपाल विद्युत प्राधिकरणले पनि ५२ वटा जडान गरिसकेको छ । हामीले स्टेशन कहाँ राख्दा राम्रो हुन्छ भनेर ग्राहकसँग फिडव्याक लिइरहेका छौं ।

आइसिइमा एकछत्र राज गरेको टाटालाई इभीमा ठूलो थ्रेट देखिएको छ, यहाँ के भन्नुहुन्छ ?

कुन बिजनेसमा कसलाई थ्रेट छैन र ? हामी यसलाई चुनौतीको रुपमा लिन्छौं । हो बजारमा ठूलो चुनौती छ । तर यसलाई अवसरका रुपमा लिएका छौं । हाम्रो संभावनाले अवसर प्राप्त गर्न जुन जुन चुनौती लिनुपर्ने हो त्यसलाई हामीले लिइरहेका छौं । लिन हामी तयार छौं । चुनौतिपूर्ण बजारमा राम्रो बिजनेस अवसरहरु हुन्छन् । सिप्रदीले नेपालमा टाटालाई पहिलो नम्बरको बनाउन सफल भएको छ । भारतको तुलनमा नेपालको बजारमा बढी प्रतिस्पर्धा छ ।

भारतमा थोरै प्लेयर छन् भने नेपालमा धेरै छन् । भारतमा नभएको गाडी नेपालमा आएको छ । भारतमा नपाउने प्रोडक्ट नेपालमा पाउने गरेको छ । जस्तै ९० को दशकमा काठमाडौंमा ट्याक्सी भनेको टोयोटा कोरोला थियो । त्यसबेला भारतमा टोयटा गाडी आएको थिएन् । त्यसबेलादेखि नै नेपालमा टोयटा गाडी आएको थियो जुनबेला भारतमा थिएन् । यस्तो बजारमा सिप्रदीले टाटालाई पहिलो बनाएको छ ।

गाडीको मूल्यमा कतिको प्रतिस्पर्धा देखिएको छ ?

मूल्यमा प्रतिस्पर्धा हुनु ग्राहकका लागि राम्रो कुरा हो । मूल्य जहिले पनि प्रतिस्पर्धी हुनुपर्छ । कसैले पनि अनायस लाभ लिन पाउनु हुँदैन । मूल्य हाम्रा लागि चुनौती छ । ग्राहकलाई सस्तो मूल्यमा राम्रो प्रोडक्ट ल्याउन सिप्रदीलाई चुनौती पनि छ । प्रोडक्ट लिएपछि गाडीको यात्रालाई एकदम राम्रो बनाउन लगानी गर्नुपर्ने हुन्छ । चाहे त्यो वर्कसप, स्पेयरपार्टस वा इभी वर्कसप र चार्जिङमा होस ।

हामीले गरिरहेका छौं । सिप्रदीले बालकुमारीमा ब्याट्रीको डाइगोनस्टिक एन्ड रिपियर सेन्टर बनाएको छ । हाम्रो आफ्नो इनहाउस सेन्टर खोलेका छौं । टाटा मोटरका सबै प्रकारका गाडीमा ब्याट्रीको समस्या समाधान गर्छौ । टाटाको हरेक मर्मत सम्भारमा हाम्रो जनशक्ति काबिल भइसकेको छ । बाहिरबाट ल्याउनु पर्दैन । यस्तै नैकापमा तालिम केन्द्र पनि छ ।

टाटामा कार्यरत कर्मचारी मात्र नभएर नेपाल प्रहरीलगायत सबैलाई निःशुल्क प्राविधिक तालिम दिइरहेका छौं । प्याकेज लिएर बजारमा गइरहेकाले हामी सधै नम्बर वान पोजिसनमा छौं । सिप्रदीसँग आवद्ध भएपछि ग्राहकहरुले हरेक यात्रामा देखिएका समस्याको समाधान दिने कम्पनीको नीति नै हो ।

पछिल्लो समय इभी गाडीमा किलोवाटको कुरा उठेको छ । टाटामा त्यस्तो समस्या छ कि छैन ?

हाम्रो स्ट्यान्डर्ड र सरकारले तोकेको नीति नियमभित्र बसेर काम गर्छौ । त्यहाँ भन्दा बाहिर जाने फिलोसपी छैन् । यस विषयमा प्रतिक्रिया दिने उपयुक्त व्यक्ति म हैन । समाचार पढिरहेको छु । यस विषयमा केही होला । किलोवाट परीक्षण गर्ने प्रविधि नेपालमा छैन् । यसमा लगानी चाहिन्छ । सरकारले ल्याएर क्षमता परीक्षण गर्नुपर्छ । भारतको अटोमोटिभ रिसर्च एजेन्सी अफ इन्डिया संस्थानबाट परीक्षण गरेर सर्टिफाइड भएपछि मात्र नेपालमा टाटा गाडी भित्रिन्छ । सरकारको मापदण्ड हामीले पुरा गरेका छौं ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend