
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का राष्ट्रिय सभा सांसद डा. वेदुराम भुसालले संक्रमणकालीन न्यायलाई अब पनि टुंग्याउन नसके मुलुक र समाजलाई अघि बढाउन नसकिने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले कानून बनेको एक दशकसम्म काम गर्न नसक्नु विडम्वनापूर्ण रहेको बताए । संशोधनमार्फत सर्वसम्मतिले गइसकेपछि अब पनि असहमति हुनु नहुने बताए । उनले कानूनलाई अब पनि अघि बढाउन नसके फेरि पनि शान्ति प्रक्रिया टुंगिन नसक्ने बताए ।
उनले भने, ‘कानून बनेको एक दशकसम्म काम गर्न सकेको छैन । विभिन्न कारणले सहमति कायम हुन सकेनन् । जसले गर्दा हामीले कतिपय कुराहरु टुंग्याउन सकेनौँ । आज यो संशोधनमार्फत यो ऐनमा यो तेस्रो पटक गरेको संशोधनले शान्ति प्रक्रियालाई टुंग्याउनु पर्छ । त्यस हिसावले यो संशोधनपछिको कानून जान सक्नुपर्छ ।
यो कानूनलाई त्यस ढंगले प्रयोग गर्न सकिएन भने फेरि पनि शान्ति प्रक्रिया अघि बढ्न सक्दैन । यसलाई हामीले टुंग्याउन सक्नेछैनौँ । फेरि पनि हामी गल्ती गर्नेछौँ । मुलुक र समाजलाई अघि बढाउने धेरै कामहरुमा हामीलाई बाधा पर्नेछ ।
यो शर्तमा यो विधेयक पास गरौँ की, यो विधेयक पास गरिसकेपछि अहिले जुन धाराहरु यो विधेयकका जुन दफाहरुले शान्ति प्रक्रियालाई टुंग्याउनका निम्ति बाधा पुग्यो भनेर संशोधन गरेका छौँ, ति संशोधनले यो कानूनलाई प्रयोग गरेर हाम्रो शान्ति प्रक्रियालाई टुंग्याउनका निम्ति सहयोग गर्नुपर्छ ।’
सांसद भुसालले प्रतिनिधि सभामा भएको छलफल र राजनीतिक दलहरुबीच भएको सहमतिलाई विश्वास गरेर राष्ट्रिय सभाबाट पारित गरिएको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend