logo

२०८१ कार्तिक २८ बुधबार

logo
  • बुधबार, २८ कार्तिक २०८१
  • अर्थमन्त्रीको दाबी : नयाँ सरकार बनेको एक महिनामा २० प्रतिशतले राजश्व वृद्धि भयो

    अर्थमन्त्रीको दाबी : नयाँ सरकार बनेको एक महिनामा २० प्रतिशतले राजश्व वृद्धि भयो

    560
    Shares
    अर्थमन्त्रीको दाबी : नयाँ सरकार बनेको एक महिनामा २० प्रतिशतले राजश्व वृद्धि भयो

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको दाबी गरे ।

    अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताए । उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएको उल्लेख गरे ।

    उनले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताए । उनले भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रका सूचकहरुले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको संकेत गरेको बताए ।

    उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गरे ।

    उनले भने, ‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छन् । अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी प्रभावकारी काम गर्न बाँकी छ । गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको छ । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुर्याउनुपर्छ ।

    साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएका छन् । पुँजीबजार उत्साहित भइरहेको छ । मौद्रिक नीतिले जुन किसिमले सकारात्मक दृष्टिकोणहरु अगाडि सा¥यो । त्यसको प्रभाव अर्थतन्त्रमा परिरहेका छन् । भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा छौं । रेमिट्यान्सको अवस्था सकारात्मक छ ।

    अर्थतन्त्रका सूचकहरुले पनि वर्तमान सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्नेकुराको संकेत गरेको छ । अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई यही गतिमा अगाडि बढाएर लैजान्छ । मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर आइसकेको छैन । समग्र मागमा,उत्पादन,रोजगारी कमी छ । उद्योगहरु ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । राजश्वले साधरणखर्च धान्नुपर्ने अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ ।’

    अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राखे । उनले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताए । अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हासियार हुन आवश्यक देखिएको उल्लेख गरे ।

    सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाई छ । उहाँले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताए । उनले सरकारले निर्माण व्यवसायीहरुको क्रमश भुक्तानी गर्दै आएको भन्दै जुनसुकै रुपमा भएपनि भुक्तानी नरोक्ने पुनःप्रतिवद्धता जनाए ।

    उनले सरकारले बनाउने कानूनहरु व्यवसायीहरु माथि लाद्ने दृष्टिकोण नभएको उल्लेख गरे । उनले कानूनहरुलाई व्यवसायीहरुका मागलाई सुन्ने र व्यवसायीमैत्री बनाउने योजनामा रहेको भन्दै निजी क्षेत्रको लगानी संकुचन हुनेगरी कानून नबनाउने बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको महत्व बुझेको भन्दै निजी क्षेत्रको भूमिकालाई कमजोर बनाउने काम नगर्ने बताए ।

    अर्थमन्त्री पौडेलले सरकार र मन्त्रीहरुलाई समय खेर फाल्ने छुट नभएको भन्दै परिणाम आउने गरी काम गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend