logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको परराष्ट्रमन्त्री समक्ष प्रमाणपत्र प्रस्तुत

    युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको परराष्ट्रमन्त्री समक्ष प्रमाणपत्र प्रस्तुत

    308
    Shares
    युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको परराष्ट्रमन्त्री समक्ष प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गरेकी थिइन् ।

    मन्त्री डा राणाले भनिन्, “सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ । कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने क्रममा नेपाललाई आर्थिक रूपमा सबल र दिगो, सामाजिक रूपमा समावेशी बनाउन युनएनडिपीको भूमिका अझ बढी महत्वपूर्ण रहेको छ ।”

    दिगो विकास लक्ष्यहरू हासिल गर्न युएनडिपी प्रतिबद्ध रहेको बताउँदै योकोसुकाले भनिन्, “उत्थानशीलताको निर्माण, रोजगारी सिर्जना र प्रजातान्त्रिक शासन व्यवस्थाको प्रवर्द्धन गर्ने क्षेत्रमा कार्यशील युएनडिपी, सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यमा राष्ट्रिय विकास प्राथमिकताहरूलाई सम्बोधन गर्न र ‘कसैलाई पनि पछाडि नछाड्ने’ वाचा पूरा गर्न तत्पर छ ।”

    नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकासँग विभिन्न नेतृत्वदायी भूमिकामा रहेर अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा काम गरेको २५ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपालका लागि नियुक्त हुनुअघि उनी जर्मनीको बोनस्थित युएन भल्युन्टिर्यस् (युएनभी)का लागि उपकार्यकारी संयोजकका रूपमा कार्यरत थिइन् ।

    उनले उज्बेकिस्तान, लाओ गणतन्त्र र बङ्लादेशमा युएनडिपीको उपआवासीय प्रतिनिधि भएर काम गरिसकेकी छन् । संयुक्त राष्ट्रसङ्घसँगको लामो आबद्धताका क्रममा योकोसुकाले युएनडिपीका लागि रोमानिया, युरोपस्थित युएनडिपीको क्षेत्रीय कार्यालय र न्युयोर्कस्थित युएनडिपी मुख्यालयमा रहेर काम गरिसकेकी छन् ।

    जापानी नागरिक योकोसुकाले युनिभर्सिटी अफ लन्डनको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend