जेनेभा, क्यूएनए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ‘क्लेड १ बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने “एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।”
यो छ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।
एमपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्लुएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।