काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्ने बताएका छन् । आईतबार स्व. गायक जेबि टुहुरेको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित फुटसलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा रहेपनि खेलकुद, गीत, संगीतको समयमा एकै ठाउँमा हुने भन्दै राजनीतिमा पनि विशेष अवस्थामा एक हुन सक्नुपर्ने बताए । उनले खेलको नियमलाई राजनीतिमा पनि उतार्नसके सफल बन्ने बताए ।
उनले भने, ‘हामी विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा पनि हुन्छौँ । तर जब खेल र कलाको कुरा आउँछ, जब संगीतको कुरा आउँछ, हामी एउटै छातामुनि हुन्छौँ । खेलको नियमलाई राजनीतिमा पनि उतार्न सक्नुपर्छ ।’
अभिनेता धिरेन शाक्यले आत्मियाता आदानप्रदानका लागि खेलेको बताए । उनले दुवै तर्फबाट उत्कृष्ट टिम रहेकाले खेल उत्साहप्रद रहेको बताए ।
राजनीतिक दलका नेता र कलाकारहरुले स्व. जेबि टुहुरेलाई सो अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जेबि टुहुरेको स्मृति दिवसको अवसरमा कलाकार र राजनीतिक दलका नेताहरुबीच फुटसल भएको हो ।