सनत हमाल/मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको लागि उपलब्ध खानेपानी धारामा पानी शुद्धिकरण गर्ने मेसीन जडान गरिएको छ । पानीजन्य रोग न्युनिकरणका लागि खानेपानी ट्याङ्कीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको हो ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिका ४ भामवाडा गाउँको खानेपानी ट्याङ्कीमा पानी शुद्धिकरण गर्ने उक्त मेसीन जडान गरिएको छ ।
बर्खा सिजनमा पानी फोहोर हुन सक्ने र पानीजन्य रोगबाट बच्न पहिलो चरणमा तिन वटा ट्याङ्कीमा पानी शुद्धिकरण गर्ने मेसीन जडान गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
यसपछि पनि युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा अन्य गाउँमा निर्माणधिन खानेपानी धारामा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिने नगर प्रमुख भामले बताए ।
गमगढी खानेपानी र भामवाडा खानेपानीको लागि तिन वटा पानी शुद्धिकरण गर्ने मेसीन ७ लाख ८५ हजारमा खरिद् गरी दश प्रकारका पानी शुद्धिकरण गर्ने सामाग्रीका साथ खानेपानिका ट्याङ्कीमा जडान गरीएको हो ।
बुधबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भाम, नगर उप प्रमुख ऐश्वर्य मल्ल र गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लले गमगढी खानेपानिका ट्याङ्कीहरु र पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडानको अवलोकन गर्नुका साथै त्यसमा प्रयोग हुने सामग्रीका साथ मेसीनको उद्धघाटन गरे ।
गमगढी खानेपानी उपभोग गर्ने उपभोक्ता ४ सय २० घरधुरी छन् भने भामवाडा खानेपानी प्रयोग गर्ने उपभोक्ता २ सय २० घरधुरी रहेका छन् । पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरेसंगै उपभोत्ताहरुमा पानीजन्य रोगबाट बच्न सकिने स्थानीयको भनाई छ ।