logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लामो समयदेखि अलपत्र बनेको गौतमबुद्ध रङ्गशाला निर्माणले गति लिँदै, कहिले होला सम्पन्न ?

    लामो समयदेखि अलपत्र बनेको गौतमबुद्ध रङ्गशाला निर्माणले गति लिँदै, कहिले होला सम्पन्न ?

    448
    Shares
    लामो समयदेखि अलपत्र बनेको गौतमबुद्ध रङ्गशाला निर्माणले गति लिँदै, कहिले होला सम्पन्न ?

    भरतपुर । लामो समयदेखि अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो ।

    रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताइन् ।

    “कामले गति लिइसकेको छ । कामदारको सङ्ख्या पनि उल्लेख्य छ”, उनले भनिन्, “तोकिएकै समयमा रङ्गशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ ।” उनले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताइन् ।

    महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताए ।

    उनका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माण फेरि सुरु गरिएको छ ।

    सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताए । उनका अनुसार अहिले दुई सय ५० जना कामदार खटिएका छन् । पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।

    धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रङ्गशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रङ्गशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उनले बताए ।

    महानगरपालिकाले ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ ।

    सहयोग जुटाएर निर्माण सुरु गरेको रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । अहिले पनि रङ्गशालाको ऋण १२ करोड रुपैयाँ रहेको फाउण्डेशनले जनाएको छ ।

    यो पनि :

    साढे ७५ करोडमा गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

    गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोक बीबीआरले पायो, ६८ करोडमा लाग्यो ठेक्का


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend