
काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् ।
उनले मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारे ।
सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत तिमिल्सिनाले मलेसियामा विचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताए ।
उनले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरुको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताए ।
प्रस्तावित राजदुत तिमिल्सिनाले भने, ‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेवलको भिजिट मलेसियाबाट चाँही गृहमन्त्रीको लेवलको भिजिट चाँही उनीहरुको चासो छ भन्ने मैले सुनेको छु । तर प्राईमिनिष्टरको लेवलको हामीले त्यो गर्न सक्यौ भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रुपमा मानिदो रहेछ ।
त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढने ? मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यान पावर कम्पनी हुने । अनि, यहाँको म्यान पावरले उहाँ विचौलियो राखेको हुन्छ । र, त्यो विचौलियाले त्यहाँ सिन्डीकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन ।
यहाँ खान्छ, उहाँ गएपछि त्यही खान्छ । त्यो मलेशियाका दुतावासतिर यहाँहरु जानु भएको छ कि छैन ? त्यहाँ स्याउस्याउती विचौलियाहरु हुन्छन रे । जताततै ठग्ने काम गर्दछन रे । म एकदमै अफ्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन–म कति टिक्न सक्छु । यहाँहरुले बिचैमा तँ फेल भईस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसले सरकारले सहयोग गर्नुपर्छ ।’
प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कुटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend