logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो : कांस्य विजेता पलेशा

    आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो : कांस्य विजेता पलेशा

    504
    Shares
    आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो : कांस्य विजेता पलेशा

    काठमाडौं । नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् ।

    अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् ।

    पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ । पलेशाले यो पदक आफ्नो मात्र नभइ देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अझै धेरै बाँकी रहेको बताएकी छिन् ।

    प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्नसक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि शुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ ।

    प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत गर्यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताएका छन् ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहासक रचेको उनले उल्लेख गरे ।

    पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानूनी नै निर्माण गरेको र सो अनुरूपमा पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ । सदस्यसचिव घिसिङले राज्यलाई पलेशाले मायाको चिनो स्वरूप पदक दिएको र त्यसबापत देशलाई उनलाई यो पुरस्कारबाट सम्मान हुने उल्लेख गरे ।

    उनले अहिले पलेशा र एरिका गुरुङ (एशियाली खेलकुदमा रजत पदक विजेता) युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरेका छन् । घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै तयारी शुरु भैसकेको बताए । ओलम्पिकमा पदक जित्ने इतिहासमा पलेशाले खाता खोलेको उनको भनाइ छ । यो खाता पदक थप्न कयैन् खेलाडी लाग्ने उनको विश्वास छ ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले लर्को लगाएर विदेश जानुभन्दा पनि खेल विकासमा ध्यान दिन संघहरूलाई आग्रह गरे ।

    मन्त्री चौधरीले पलेशाका प्रशिक्षक कविराज नेगी लामाले स्वयम् सेवक प्रशिक्षक अहिलेसम्म काम गर्नु दुःखको क्षण रहेको बताए । एकतवाद्ध भएर काम गर्नसके खेलकुदले देशलाई धेरै दिनसक्ने उनको विश्वास छ । त्यसअघि पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको थियो । त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहलाई स्वागत गरेका थिए ।

    बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend