logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • उत्तरगंगा जलविद्युत परियोजनाको काम तत्काल सुरु गर्न प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन

    उत्तरगंगा जलविद्युत परियोजनाको काम तत्काल सुरु गर्न प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन

    1.8K
    Shares
    उत्तरगंगा जलविद्युत परियोजनाको काम तत्काल सुरु गर्न प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको कामलाई तत्कालै सुरु गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थमन्त्री पौडेलको अध्यक्षतामा बसेको परियोजना सम्बन्धि बैठकले यस्तो निर्देशन दिएको हो ।

    आयोजना पूरा गर्नका लागि लाग्ने बजेट सरकारले व्यवस्था गर्ने प्रष्ट पार्दे अर्थमन्त्री पौडेलले तत्कालै काम थाल्न प्राधिकरणलाई भनेका छन् । अर्थमन्त्री पौडेलको अध्यक्षतामा शुक्रबार ऊर्जा मन्त्री दिपक खड्का, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उत्तरगंगा पावर कम्पनीका प्रतिनिधि, सांसद देवीप्रकाश भट्टचन, अर्थ र उर्जा मन्त्रालयका सचिवसहितको संयुक्त बैठक बसेको थियो ।

    यस आर्थिक वर्षमा उत्तरगंगा जलशाययुक्त जलविद्युत आयोजनामा बजेट नपारिएकाले बजेट कहाँबाट जुटाउने भनी सांसद भट्टचनले बैठकको पहल गरेका थिए । सांसद भट्टचनकै पहलमा बसेको बैठकमा अर्थमन्त्री पौडेलले प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई भने , ‘तत्कालै परियोजना सुरु गर्नका लागि कति बजेट चाहिन्छ, तत्काल प्रस्ताव पठाउनुस् । क्याविनेटबाट बजेटको व्यवस्था गर्ने जिम्मा मेरो भयो ।’ उत्तरगंगा जलाशययुक्त विद्युत परियोजना मुलुककै मुहार फेर्ने परियोजना भएकाले मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको ऊर्जा मन्त्री खड्काले बताए ।

    प्राधिकरणको मुख्य लगानीमा काम सुरु गर्नका लागि सबै स्रोतको व्यवस्था गरिने आश्वस्त पार्दै पौडेलले भने, ‘यो राम्रो परियोजना भएकाले विद्युत प्राधिकरणले आफै लगानी गर्छ । त्यसका लागि चाहिने थप स्रोतको खोजी र व्यवस्था सरकारले गर्छ । म अर्थमन्त्री भएकै बेला यसको व्यवस्था गर्छु ।’

    बैठकमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका भई बग्ने उत्तरगांलाई बागलुङको निसीखोला गाउँपालिकामा ‘डाइभर्सन’ गरिने भएकाले विरोध रहेको निर्देशक घिसिङले जानकारी गराएका थिए । ‘यो माथिबाटै राजनीतिक तहमा हामी समाधान गर्छौं । प्राधिकरणले काम सुरु गर्नुस’, अर्थ र ऊर्जामन्त्रीद्वयले समूहिक रुपमा घिसिङलाई भनेका छन् ।

    ‘प्रधानमन्त्रीज्यूले चार वर्षभित्रै काम सुरु हुने जानकारी गराउनु भयो । तर बजेट थिएन । तत्काल कामका लागि बजेट व्यवस्था कसरी गर्ने भनेर अर्थमन्त्रीको अध्यक्षतामा बैठक राखिएको हो । आजको बैठकबाट ६ महीनाभित्र उत्तगंगा जलाशाययुक्त जलविद्युत परियोजनाको काम थालनी हुन्छ’, बैठकपछि सांसद भट्टचनले भने ।

    आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ । जलाशायले प्रभावित जग्गा अधिकरण तथा मुआब्जाको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तत्कालै अध्ययन गर्नसमेत प्राधिकरणलाई निर्देशन दिइएको छ ।

    तत्कालै अधिकरण गरेर मुआब्जा नगरी खण्ड–खण्डमा गर्ने गरी काम अघि बढाउने बैठकमा सहमति भएको छ । जलशायबाट १६ सय हेक्टर जग्गा डुबानमा पर्ने छ । डुबानमा पर्ने सबै जग्गा व्यक्तिका नापीमा पर्दैनन् ।

    अहिले विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीमार्फत् आयोजनाको ‘रिभ्यु अफ फिजिबिलिटी स्टडी एन्ड इन बेसिन एन्ड इन्टर बेसिन अप्सन स्टडी’को कार्य भइरहेको छ । पहिलो अध्ययन प्रतिवेदनले ८२८ मेगावाट विजुली उत्पादन हुने देखाए पनि पछिल्लो पटक ८२१ मेगावाट उत्पादन हुने उल्लेख गरिएको छ ।

    पहिलो चरणमा ८२१ मेगावाट उत्पादन भए पनि चरणबद्ध विद्युत उत्पादन गृह थप गरेमा १२ देखि १३ सय मेगावाटसम्म विद्युत उत्पादन हुने विज्ञहरुले बैठकमा जानकारी गराएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend