काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पाँच हजार रुपैयाँसम्मको अनलाइन भुक्तानीमा शुल्क नलाग्ने व्यवस्थाको प्रस्ताव गरेका छन् ।
उनले सानोतिनो कारोबारमा समेत ११ रुपैयाँ ३० पैसा शुल्क लाग्ने गरेको भन्दै यस्तो प्रस्ताव राख्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।
“चिया खाएको, साग किनेको जस्ता साना कारोबारमा पनि ११ रुपैयाँ ३० पैसा काटिन्छ । १० रुपैयाँ तिर्दा २१ रुपैयाँ काटिने यस्तो त हुँदै भएन,” रिमालले लेखेका छन्, “मलाई यो गुनासो जायज लाग्यो । पाँच हजारभन्दा थोरै कारोबारमा यस्तो शुल्क नलगाउनु राम्रो हुन्छ कि ? सबैको सुझाव चाहन्छु ।”
उनले हाल सबैजसो ठाउँमा डिजिटल पेमेन्ट सिस्टम रहेको बताउँदै १० रुपैयाँको बिस्कुट किनेर डिजिटल पेमेन्ट गर्दा बैंकहरूले १० रुपैयाँ चार्ज लगाउने गरेको र त्यसमा १३ प्रतिशत भ्याट जोडेर ११ रुपैयाँ ३० पैसा काटिने गरेको भन्दै गुनासो आइरहेको बताएका छन् ।