logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सुदूरपश्चिमको पोस्टमा फेरि गोलको वर्षा, एकै खेलमा १५ गोल

    सुदूरपश्चिमको पोस्टमा फेरि गोलको वर्षा, एकै खेलमा १५ गोल

    2.5K
    Shares
    सुदूरपश्चिमको पोस्टमा फेरि गोलको वर्षा, एकै खेलमा १५ गोल

    काठमाडौं । दीपा शाहीको पाँच गोल प्रेरणामा त्रिभुवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा मंगलवार सुदूरपश्चिम प्रदेशमाथि दर्जनभन्दा बढी गोलवर्षा गरेको छ ।

    सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा दीपा चम्किँदा आर्मीले लिगकै कमजोर टोली देखिएको सुदूरपश्चिममाथि १४–१ को फराकिलो जित निकालेको हो ।

    आर्मीका लागि अनिता लम्जेलले दुई तथा विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोल थपे । जारी लिगमा तेस्रो खेलबाट नै सुदूरपश्चिमले २८ गोल बेहोरेको छ । यसबीच दुई गोल फर्काएको छ । यसअघि सुदूरपश्चिमले बागमती युथ क्लबसँग ५–१ र अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग ९–० को फराकिलो अन्तरको हार सामना गरेको थियो ।

    सुदूरपश्चिमले जुन फराकिलो हारको शृंखला तेस्रो खेलमा पनि जारी राख्यो । यो जितसँगै आर्मी तीन खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । यसअघि आर्मीले वालिङ नगरपालिकालाई ४–० ले हराउँदा विभागीय प्रतिद्वन्द्वी एपिएफसँग २–१ ले पराजित भएको थियो ।

    लगातार तेस्रो खेलमा हार बेहोरेको सुदूरपश्चिम अंकविहीन रहँदै पुछारमा छ । मंगलबार एकै खेलमा १५ गोल सम्भव भयो । तीमध्ये आर्मी र सुदूरपश्चिमले समान एक आत्मघाती गोल सामना ग¥यो । खेलको सातौं मिनेटमा विमला चौधीरीको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

    सुदूरपश्चिमकी खेलाडीले क्लियर गर्न खोजेको बल नियन्त्रणमा लिँदै विमलाले सुन्दर गोल गरेकी हुन् । आर्मीले १५औं मिनेटमा हिमाको गोलबाट अग्रता दोब्बर बनायो । चन्द्रा भण्डारीको थ्रु पास सदुपयोग गर्दै हिमाले सहज गोल गरिन् । पाँच मिनेटपछि नै सुदूरपश्चिम प्रदेशले आत्मघाती गोल गरेपछि आर्मीलाई थप सहज भयो ।

    विमलाको कर्नर प्रहार रोक्न क्रममा शान्ती विकको हेडर बल आफ्नै पोस्ट जाली चुम्न पुग्यो । दीपाले २३औं मिनेटमा आर्मीको चौथो गोल गरिन् । हिमा चौधरीको उत्कृष्ट पास नियन्त्रणमा लिँदै दीपाले सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदलाई पनि बिट गर्दैै खाली पोस्ट गोल गरेकी हुन् ।

    दुई मिनेटपछि नै चन्द्रा भण्डारीले आर्मीको खातामा अर्को गोल थपिन् । हिमा चौधरीको पासमा उनले वान टच गर्दै खाली पोस्ट गोल गरिन् । ३१ औं मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल थपिन् । करिब २० यार्डमा प्राप्त फ्रिकिक प्रहारबाट उनले सशक्त गोल गरेकी हुन् । ४५औं मिनेटमा आर्मीको सातौं गोल सन्जु कुमालबाट सम्भव भयो ।

    विमला चौधरीको क्रसमा दुई खेलाडी मिस गरेपछि सन्जुले वान टच गोल गरिन् । इन्जुरी समयमा दीपाले ह्याट्रिक पूरा गरिन् । दीपा राईको पासमा उनले गोलकिपरलाई पनि छक्याउँदै तेस्रो गोल गरेकी हुन् ।

    यससँगै आर्मीले पहिलो हाफमै ८–० को फराकिलो अग्रता लियो । दोस्रो हाफमा पनि आर्मीले लगातार दबाब बनाउँदै ६ गोल गर्यो । दीपाले ५४औं मिनेटमै गोल गर्दै आफ्नो गोलसंख्या चार पुर्याइन् । उनले नै ६२औं मिनेटमा पाँचौं व्यक्तिगत गोल गरेपछि आर्मीको अग्रता १०–० मा पुग्यो ।

    दुई मिनेट नबित्दै विमला विकले आर्मीका लागि ११औं गोल गरिन् । यससँगै सुदूरपश्चिम पूर्ण दबाबमा पर्यो । यद्यपि, ६८औं मिनेटमा सुदूरपश्चिमले आत्मघाती गोल पायो ।

    सुदूरपश्चिमको लामो फ्रिकिक प्रहार आर्मीकी डिफेन्डर निलम सिंहले आफ्नो गोलकिपर कोपिला खड्कालाई हेड पास दिने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगिन् । आर्मीकी अनिता लम्जेलले ८२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १२–१ को अग्रता बनायो ।

    निर्धारित समय सकिन तीन मिनेट बाँकी आर्मीले दुई गोल थप्यो । सावित्रीदेविले आर्मीका लागि १३औं गोल गरिन् । अनिताले नै इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई १४–१ को फराकिलो जित दिलाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend