काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन् । बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताए । उनले सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका बताए । उनले जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको बताए ।
उनले भने, ‘जनयुद्ध भनेको नेपाल राज्य बने यताको सबैभन्दा ठूलो परिघटना हो । नेपाली भुईं तहको जनता त्यो लाखौँ, पचासौँ लाखको हिसावले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए ।
कि त माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो । त्यसले यस्तो परिघटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको छ । समाजमा ठिक र बेठिकको लडाईं निकै चल्छ । तपाईंहरुले यसको मूल्यांकन गर्ने हो ।’
अध्यक्ष भट्टराईले नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त गरे ।