विराटनगर । कोशी प्रदेश सरकारले लामो समय पछि पूर्णता पाएको छ । कोशी सरकारमा कांग्रेसका नवनियुक्त्त ४ मन्त्रीहरुले आज शपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
कांग्रेसले खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्री र ३ जना मन्त्री पठाएको छ । राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।
नयाँ मन्त्रीमा सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् ।
योसँगै कोशीमा २ राज्यमन्त्रीसहित एमाले कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।