logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • खानेपानीमन्त्री यादवद्धारा ओभरहेड पानी ट्यांकी तथा पानी प्रशोधन केन्द्रको निरीक्षण

    खानेपानीमन्त्री यादवद्धारा ओभरहेड पानी ट्यांकी तथा पानी प्रशोधन केन्द्रको निरीक्षण

    105
    Shares
    खानेपानीमन्त्री यादवद्धारा ओभरहेड पानी ट्यांकी तथा पानी प्रशोधन केन्द्रको निरीक्षण

    पोखरा । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज जापान सरकारको सहयोगमा निर्माणाधीन “पोखरा खानेपानी सुधार आयोजना” अन्तर्गत ओभरहेड ट्याङ्की, पानी प्रशोधन केन्द्र लगायत महत्वपूर्ण पूर्वाधारहरुको आज निरीक्षण गर्नुभएको छ ।

    निरीक्षणका क्रममा उहाँले आयोजनाको हालसम्मको प्रगति, त्यसका चुनौतीहरु, र भावी योजनाहरूको बारेमा गहिरो जानकारी समेत लिनुभएको छ । सो क्रममा मन्त्री यादवले विशेष रुपमा आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की निर्माणमा देखिएका अवरोधको समाधानका निमित्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरुसँग छलफल समेत गर्नुभयो ।

    “हाम्रो प्राथमिकता भनेकै यस आयोजनालाई अवरोधमुक्त बनाउँदै समयमै सम्पन्न गर्नु हो,” उहाँले भन्नुभयो, “समयमै यो आयोजना सम्पन्न गर्न सबै सम्बद्ध पक्षहरुबीच समन्वय हुन आवश्यक छ ।” पोखरा खानेपानी सुधार आयोजना नेपाल सरकार र जापान सरकारको संयुक्त प्रयासमा अघि बढाइएको एउटा महत्वाकाङ्क्षी योजना हो । यस आयोजनाले पोखराका हजारौं घरधुरीलाई शुद्ध, सुरक्षित र भरपर्दो खानेपानीको आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

    आधुनिक प्रशोधन केन्द्रहरुको स्थापना र ओभरहेड ट्याङ्कीहरुको निर्माणमार्फत पोखरामा खानेपानीको अभाव हटाउने यो आयोजना जनताको दीर्घकालीन आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालन भइरहेको छ । मन्त्री यादवले आयोजना सम्पन्न भएसँगै पोखराका नागरिकलाई स्वच्छ र भरपर्दो पानीको सुनिश्चितता हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुहुँदै अवरोधहरू समाधान गर्न प्राविधिक र प्रशासनिक पक्षलाई एकजुट भएर काम गर्न आह्वान समेत गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले जनतामा भरोसा कायम राख्नुपर्छ । खानेपानीजस्तो आधारभूत सेवाको काममा बाधा अवरोध सृजना हुन दिनुह हुँदैन । म सबै कर्मचारीलाई यसै आत्मभावनाका साथ कार्यप्रवाहित हुन आग्रह गर्दछु ।”

    मन्त्री यादवले अवरोध समाधानका निमित्त प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग समेत छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी समस्या समाधानको बाटो खोजौं, आवश्यक परे म सम्मानीय प्रधानमन्त्रीज्यू र पर्यटन मन्त्रीज्यूसँग समेत छलफल गरेर यस समस्याको निकास निकाल्छु ।” पोखरा खानेपानी सुधार आयोजनाको निरीक्षणपछि मन्त्री यादवले जनताको सेवामा कुनै प्रकारको अवरोध सह्य नहुने बताउनुभएको छ ।

    आयोजनाको सफलताका लागि सम्पूर्ण निकायहरूबीचको समन्वयलाई प्राथमिकता दिनुहुँदै उहाँले समयमै आयोजना सम्पन्न गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता समेत जनाउनुभयो । यस्तै मन्त्री यादवले पोखरास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल खानेपानी संस्थानको पोखरा कार्यालयमा समेत भ्रमण गर्नुहुँदै त्यहाँ कार्यरत कर्मचारीहरुसँग छलफल गर्नुभयो ।

    सो क्रममा उहाँले कार्यालयको गतिविधिहरूको समीक्षा गर्नुहुँदै कर्मचारीहरूलाई जनताका अपेक्षाहरु पूरा गर्ने गरी तत्कालिन रुपमा सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनतामा अहिले खानेपानीको अभावका कारण निराशा हुनुहुन्छ । हाम्रो दायित्व भनेकै उहाँहरूलाई निराशालाई सकारात्मक नतिजामा बदल्नु हो । तपाईंहरूको सक्रियतामा कुनै कमी हुनु हुँदैन । योजनाहरु कार्यान्वयन गर्दै अघि बढ्नका लागि हामी सबै एकजुट हुनुपर्छ ।”

    मन्त्री यादवले जनतासँगको सम्पर्क र संवादलाई बलियो बनाउन आग्रह गर्नुहुँदै खानेपानीको समस्या समाधानका लागि स्थानीय निकाय र सरोकारवालासँग सहकार्य गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

    त्यसैगरी उहाँले कार्यालयहरूद्वारा सञ्चालित अन्य आयोजना निर्माणको गति तीव्र बनाउँदै जनतालाई गुणस्तरीय खानेपानी सेवा छिटो उपलब्ध गराउन, संघीय र स्थानीय तहका निकायहरूको सहकार्यलाई अझ बलियो बनाउँदै समस्या समाधान गर्न साझा पहल गर्न, कार्यालयका गतिविधिहरुलाई पारदर्शी बनाउँदै जनताको विश्वास बढाउन र तत्कालिन रूपमा पोखराका नागरिकहरुको खानेपानी समस्याको समाधानका लागि सेवा प्रवाहमा आवश्यक सुधार गर्न समेत निर्देशन दिनुभयो ।

    उहाँले कर्मचारीहरुलाई जनतासँगको प्रत्यक्ष संवादमा रहन र गुनासा समाधान गर्न तत्पर रहन निर्देशन पनि दिनुभयो । “जनताको सेवामा हामी सबैले निरन्तर क्रियाशील रहनु आवश्यक छ,” मन्त्री यादवले भन्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend