सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सिंगटी हाइड्रोको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा १२ अर्ब २० करोड

सिंगटी हाइड्रोको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा १२ अर्ब २० करोड

काठमाडौं । निजी लगानीमा स्थापना भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बनाउन लागेको ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनालाई लगानी जुटेको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइसहित आधा दर्जन बैंकको १२ अर्ब २० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

आयोजनामा ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र लुम्बिनी विकास बैंकको लगानी हुने भएको छ । आयोजना बनाउन कूल १६ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा बैंकहरुले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्धक कम्पनीको लगानी हुने भएको छ ।

आयोजनाले बिजुली बेचेर वार्षिक ३ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गर्नेछ । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकासका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंकको तर्फबाट बिनितकुमार झाले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । सिंगटी हाइड्रोले दोलखामा २५ मेगावाटको सिंगटी खोला आयोजना सञ्चालन गरिरहेको छ ।

अन्नपूर्ण विद्युत विकासद्धारा प्रवद्र्धित लान्द्रुक मोदी आयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्रो ‘हाई हेड प्रोजेक्ट’ र नेपालमा सबैभन्दा धेरै उचाइ भएको आयोजना भएको छ । उक्त आयोजनाको हेडवक्सदेखि विद्युतगृहसम्मको वास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो ।

नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको छ । वर्षातको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायामको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँमा पिपिए भएको हो । विद्युत प्राधिकरणले विद्युत उत्पादन भएको ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले पिपिएको मूल्य वृद्धि गर्दै जाने सम्झौता गरेको छ ।

आयोजनामा आगामी कात्तिकबाट भौतिक निर्माणको काम सुरु गर्ने प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास कम्पनीका कार्यकारी अध्यक्ष बटु लामिछानेले बताए । निर्माण सुरु गर्न आयोजनाको ठेक्का प्रकृया अन्तिम चरणमा पुगिसकेको लामिछानेले जानकारी दिए ।

आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले तोकिएको समय भन्दा अगावै विद्युत उत्पादन गर्नेगरी तयारी थालेको अध्यक्ष लामिछानेले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend