logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • ६६९ मेगावाटको तल्लो अरुण भारतको सतलजले बनाउँदै, १ अर्ब ४० करोड मुआब्जा दिने

    ६६९ मेगावाटको तल्लो अरुण भारतको सतलजले बनाउँदै, १ अर्ब ४० करोड मुआब्जा दिने

    700
    Shares
    ६६९ मेगावाटको तल्लो अरुण भारतको सतलजले बनाउँदै, १ अर्ब ४० करोड मुआब्जा दिने

    सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्नेभएको छ ।

    आयोजनाले दुई सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावितलाई एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ ।

    तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने सतलज जलविद्युत निगम (एसजेविएन) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुण धिमानले बताए ।

    आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजनाबाट सङ्खुवासभाको चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।

    सरकारले तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी एसजेविएनलाई दिने निर्णय गरेको थियो । भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    एसजेबिएनले तल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । लगानी बोर्ड र एसजेबिएनबीच आयोजना विकास सम्झौता (पिडिए) गरिसकेको छ । लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

    अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक २ अर्ब ६२ करोड ५० लाख युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।

    नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो ।

    निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुनःवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने आयोजनाले जनाएको छ । यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा छ हेक्टर अधिग्रहण हुने सतलजले जनाएको छ ।

    तल्लो अरुण बन्ने निश्चित भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफलअघि बढाएको हो । निर्माण अवधि पाँच वर्ष बनाइएको छ । तल्लो अरुण परियोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ ।

    निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend