सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदैछ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ ।
संघ, प्रदेश सरकारले मुल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै यो बेला नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । कांग्रेस-एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो ।
संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरु संशोधन गर्ने बेला आएको कांग्रेस-एमाले नेताहरुले बताउँदै आएका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षमाबीच संसदमा सवालजवाफ भइरहेको छ । प्रस्तुत छ संविधान दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटासँग गरेको कुराकानीको सम्पादित अंश ।
संविधान कार्यान्वयनको हालसम्मको अवस्था कस्तो पाउनुभएको छ ?
हाम्रो संविधान तत्कालिन शक्ति सन्तुलनको सहमतीको दस्तावेज हो । तरपनि हामीले हाम्रो संविधानमा लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई पनि समेटेका छौँ । त्यसका साथसाथै नयाँ मूल्य, मान्यता पनि त्यसमा समेटिएको छ । जस्तोः हाम्रो संविधानले दार्शनिक रुपमा पनि दिशा निर्देश गरेको छ । संविधानको महत्वपूर्ण पक्ष भनेको प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद भनेका छौँ ।
प्रारम्भमा समाजवादउन्मुख राज्य व्यवस्था भनेका छौँ । त्यो हाम्रो संविधानको मौलिक विशेषता सहितको प्रगतिशील आयामहरु त्यसमा छन् । हुनतः त्यो भन्दापनि अग्रगामी, प्रगतिशील संविधान चाहेका थिए नेपाली जनताले । तर त्यतिबेलाको शक्ति सन्तुलनको आधारमा प्रगतिशील नै छ । त्यतिबेलाको शक्ति सन्तुलन अनुसार अग्रगामी नै छ । जहाँसम्म संविधानको कुरा छ, सफल कार्यान्वयनका लागि पार्टीहरुले जति गम्भिरतापूर्वक यसलाई लिनुपथ्र्यो, त्यति लिएका छैनन् । त्यसकारण संविधानको दोष भन्दापनि पार्टीको लोकतान्त्रिक सोचमा कमी रहेको कारणले प्रभावकारी कार्यान्वयन भएको छैन ।
जहाँसम्म संविधानको कुरा छ, सफल कार्यान्वयनका लागि पार्टीहरुले जति गम्भिरतापूर्वक यसलाई लिनुपथ्र्यो, त्यति लिएका छैनन् । त्यसकारण संविधानको दोष भन्दापनि पार्टीको लोकतान्त्रिक सोचमा कमी रहेको कारणले प्रभावकारी कार्यान्वयन भएको छैन ।
सन्तुष्टि हुने ठाउँ छैन उसोभए, कि छ ?
यसको प्रभावकारी कार्यान्वयन पनि भएको छैन । यसको राम्रोसँग अभ्यास पनि भएको छैन । त्यसकारण यसलाई असफल भन्ने त कुरै होइन । यही संविधानले काम गरी नै रहेको छ । संविधानअनुसार निर्वाचनहरु भइरहेको छ, शान्तिपूर्ण रुपमा । एउटा शब्दमा यसको कार्यान्वयन सफल भयो । असफल भयो भन्दापनि यसले संविधानले आफ्नो काम गरी नै रहेको छ । तर त्यसको कार्यान्वयनका लागि जुन राष्ट्रिय सहमती हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने, संविधानका मूल्य, मान्यताप्रति इमान्दारि हुनुपर्ने पार्टीहरुमा कमी देखिएको छ । राम्रोसँग अभ्यास गरे हाम्रो संविधान राम्रो छ ।
शासकिय प्रणाली बारे प्रश्न उठेका छन्, दुई सदनात्मक सदनको संरचनामाथि प्रश्न उठेका छन्, यसबिचमा कस्तो रुपमा कार्यान्वयन भए त यिनको, त्यसको समिक्षा गर्नुपर्दा ?
हामीले त्यतिबेला पनि(संविधान निर्माणका क्रममा)केही नोट अफ डिसेन्ट राखेका थियौँ । हाम्रा नोट अफ डिसेन्टहरु के थिए भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली हुनुपर्छ भनेका थियौँ । अहिलेसम्मको अनुभवले पनि के देखिएको छ त भन्दाखेरी यदि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा गएको भए, यसखालको अस्थिरता, यसखालको अन्योलता देखापर्ने थिएन । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली नै फेरि आवश्यक छ भन्ने छ र हामीले अहिले फेरि त्यसकै माग गरिरहेका छौँ ।
राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठेको छ, कसरी लिनुहुन्छ ?
ठिक हो । राष्ट्रिय सभा त्यति प्रभावकारी भइरहेको छैन । राष्ट्रिय सभाले जुन स्तरबाट, संविधानले परिकल्पना गरेको थियो त्यो परिकल्पना अनुसार त्यसको प्रभावकारी ढंगले सञ्चालन भएको छैन । त्यसअर्थमा यसलाई प्रभावकारी बनाउनुपर्छ भन्ने कुरामा कुनै दुई मत छैन । फेरि राष्ट्रिय सभा कति आवश्यक ? कति उचित ? कति अनुचित यो बारेमा त एउटा बहसको खाँचो छ ।
संविधानको पुनरावलोकन गर्ने समय भयो कि भएन ?
मैले फेरि जोड दिएर भन्छु यसको राम्रो अभ्यास नै भएको छैन । राम्रोसँग अभ्यास नभइ सकेपछि यसको महत्वपूर्ण पक्षहरु लागू भएका पनि छैनन् । संविधान भनेको संशोधनीय दस्तावेज हो । यो संशोधन हुन नसक्ने भन्ने होइन । तर मलाई के लाग्छ भने यो संविधानको संशोधन, परिमार्जन, पुनरावलोकन भन्नुभन्दा संविधानमा विकास गर्नुपर्छ । त्यसलाई अझ अग्रगामी, अझ प्रगतिशिल, अझ जनताको हक, अधिकारको दायरालाई फराकिलो बनाउनुपर्छ । त्यसअर्थमा संविधानको विकास गर्न सकिन्छ ।
तर अहिले जुन संविधानको संशोधनको कुरा सरकारले उठाइरहेको छ नि, त्यसमा हामी सफा नियत देख्दैनौँ । उहाँहरुले नै भनिराख्नुभएको छ कि राष्ट्रिय सभालाई समावेशी बनाउने । त्यसो भएपछि, प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रै बनाउने आदि कुराहरु बाहिर आइराखेका छन् नि । संवैधानिक व्यवस्थाले गर्दा अस्थिरता भयो भनेर भनेको छ नि, यो चाहीँ उहाँहरुको सोच नै बेठिक छ । उहाँहरु संविधान संशोधनको कुरा अग्रगामी सोचबाट उठाइराख्नुभएको छैन । प्रगतिशिल कोणबाट उठाइराख्नुभएको छैन । पछाडी फर्किने छ । जनताका अधिकारहरुलाई बढाउने हिसावले उहाँहरुले कुरा ल्याउनुभएको छैन । जस्तोः राष्ट्रिय सभालाई समानुपातिक बनाउने, समावेशी बनाउने ।
प्रतिनिधि सभा प्रत्यक्ष भनेको छ । राष्ट्रिय सभा त विशुद्ध एउटा प्राज्ञिक थलो जस्तो हो । त्यहाँ नीति, निर्माणका लागि प्रतिनिधि सभा नै निर्णायक हुन्छ । प्रतिनिधि सभाबाट समावेशितालाई हटाइदिइसकेपछि त त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण जनताका अधिकारहरु कटौती गर्ने अन्तर्निहित उद्देश्यले जस्तोः दलित, महिला, आदिबासी, जनजाति यि सबै समानुपातिकबाट प्रतिनिधि सभामा आउने कुरालाई त ढोका बन्द गर्नेकुरा भयो नि । त्यसकारण सर्वथा यो बेठिक छ । पश्चगामी छ । पछाडितिर फर्किने खालको छ । त्यसमा हाम्रो सहमती हुँदैन ।
अस्थिरताको कारण निर्वाचन प्रणाली भयो, यसलाई फेर्नैपर्छ भन्ने छ नि ?
निर्वाचन प्रणाली अस्थिरताको कारण होइन । उहाँहरु अस्थिरता यसलाई ठान्नुहुन्छ भने हाम्रो प्रस्ताव के छ भने पूर्ण समानुपातिक प्रणालीमा जाऔँ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएपछि खर्चको विकृति, बिसंगति कम हुन्छ । म प्रष्टसँग भन्न चाहन्छु निर्वाचन प्रणाली अस्थिरताको कारण होइन । उहाँहरु यसमा बढी खर्चिलो भयो । विकृति र विसंगतिहरु भयो भन्ने मान्नुहुन्छ भने हामी तयार छौँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । अझ राज्यले सबै पार्टीहरुको निर्वाचन खर्च बेहोरोस् । मन्त्रिपरिषद् गठन हुँदा विज्ञ, विशेषज्ञबाट बनोस् । त्यो अर्थमा हामी संविधान संशोधन गर्न तयार छौँ ।
विकृति र विसंगतिहरु भयो भन्ने मान्नुहुन्छ भने हामी तयार छौँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । अझ राज्यले सबै पार्टीहरुको निर्वाचन खर्च बेहोरोस् । मन्त्रिपरिषद् गठन हुँदा विज्ञ, विशेषज्ञबाट बनोस् । त्यो अर्थमा हामी संविधान संशोधन गर्न तयार छौँ ।
थ्रेसहोल्ड बढाउने कुरा पनि चर्चामा छ ?
त्यो त सरासर वद्नियतपूर्ण छ । किनकी दुई दलियतातिर देशलाई लैजाने अन्तर्निहित उद्देश्यका साथ यो भइरहेको छ र अहिले भएको समानुपाति समावेशि प्रतिनिधित्व कटाएपछि त्यसले राष्ट्रिय एकतामा नै आँच ल्याउँछ । त्यसकारण थ्रेसहोल्ड राख्ने कुरा साना पार्टीलाई टार्गेट गरेर ल्याइराखिएको छ । साना पार्टीहरुको प्रतिनिधित्व भएर के बिग्रिएको छ ? सबैको प्रतिनिधित्व भएको छ । राष्ट्रिय एकतामा त्यसले बल पुगेको छ ।
त्यसकारण थ्रेसहोल्ड बढाउने कुरा गलत छ । कुनै हालतमा बढाउनु हुँदैन । नेपालमा जातजाति, भाषाभाषि, अल्पसंख्यक, सिमान्तकृत, जनसमुदायको प्रतिनिधित्व हुनुपर्छ नि । त्यसो भएको हुनाले थ्रेसहोल्ड राख्नु किमार्थ सैह्य हुँदैन । यसले साना पार्टीको अस्तित्व नामेट पारेर दुई दलिय व्यवस्थातिर लाने सुनियोजित योजनाहरु अनुसार यो आइराखेको छ । यसमा हाम्रो र अरु पार्टीहरुको पनि समर्थन हुँदैन ।
संविधान संशोधन गर्दैगर्दा सुधार गर्नैपर्ने अत्यावश्यक के छ ?
मैले शुरुमा पनि भने हाम्रो संविधानको इमान्दारितापूर्वक कार्यान्वयनको समस्या छ । जब त्यसलाई राम्रोसँग अभ्यासमा लगिन्छ नि, अभ्यासमा लगेपछि कहाँनिर सुधार गर्नुपर्ने रहेछ, कहाँनेर विकास गर्नुपर्नेछ भन्ने थाहा हुन्छ । ९ वर्षको अवधिमा राम्रोसँग अभ्यास नै नभएको छैन । र पनि गर्नैपर्छ भन्ने हो भने अग्रगामी, प्रगतिशील, जनताका अधिकार बढाउनका लागि उहाँहरुले खुलस्तसँग ल्याउनुपर्यो कुन-कुन बुँदामा कसरी गर्न खोजेको हो ?
अग्रगामी दिशातिर जाने हो भने हाम्रो सहमती छ । तर मलाई के लाग्छ भने अहिले संविधान संशोधन नभएर केही कुरा अड्किएको छैन । सुशासन, समृद्धि र सेवाप्रवाह गर्ने कुरामा संविधानले कुनै रोकेको, अड्काएको छैन । तर संविधान त संशोधन गर्न सकिन्छ, एक दशकमा गर्ने भनेको छ नि त भन्ने हो भने अग्रगामी ढंगले गरौँ ।
संघीयता कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकेको दोष कांग्रेस-एमाले-माओवादी केन्द्रलाई जाने गरेको छ, यस्तै हो ?
संघीयता धेरै ठूलो संघर्षको बलमा स्थापना भएको कुरा हो । कतिपय पार्टीहरुलाई त यो संघीयता त्यति रुचिकर पनि छैन । यसमा राष्ट्रिय सहमती हुनुपर्ने प्रभावकारी कार्यान्वयन गर्नका लागि । प्रदेशलाई दिनुपर्ने अधिकार पनि पुरा दिइराखिएको छैन । कानुनहरु पनि बनिसकेका छैनन् । त्यसले गर्दा यस्तो भएको हो । तर नेपालमा संघीयता जरुरी छ । आवश्यक छ । संघीयताले मात्रै नेपाली जनताका विविध जातजाति, भाषाभाषिका अधिकारहरुको सम्बोधन गर्नसक्छ । संघीयता कार्यान्वयन प्रभावकारी रुपमा भएको छैन । यो कुरा म स्वीकार्छु ।
नेपालमा संघीयता जरुरी छ । आवश्यक छ । संघीयताले मात्रै नेपाली जनताका विविध जातजाति, भाषाभाषिका अधिकारहरुको सम्बोधन गर्नसक्छ । संघीयता कार्यान्वयन प्रभावकारी रुपमा भएको छैन । यो कुरा म स्वीकार्छु ।
अंक गणितको हिसाबले हेर्दा संविधान संशोधन जटिल देखियो नि होइन, प्रतिनिधि सभाको यो कार्यकालमा संविधान संशोधन होला ?
यो सफा नियतले ल्याएको छैन । उहाँहरुलाई सत्तामा पुग्नुपथ्र्यो । उहाँहरुलाई दुई दलियतातिर देशलाई लैजानुपथ्र्यो । पहिलो त, सत्तालिप्साको कारणले नै उहाँहरुले यसलाई आवरण बनाएको मात्रै हो । संविधान संशोधनलाई आवरण बनाएको हो । उहाँहरुलाई त अहिले जनतालाई दिएको अधिकार पनि बढी भयो जस्तो लागेको छ । संघीयता पनि घाँडो जस्तो लागेको छ ।
यि सबै कुराले गर्दा भैहाल्यो भने पछिल्तिर फर्किनका लागि अनुकुल हुन्छ कि भनेर फालेको तुरुप हो यो । मुख्यतः सत्तामा जाने भर्याङ बनाउन हो । पहिलो र दोस्रो दल मिलेर किन सरकार बनाएको ? भनेर उठ्ने प्रश्नलाई हामीले त संविधान संशोधनको उद्देश्य राखेर पो गरेको भन्ने पार्नलाई हो । संशोधन गर्ने भनेपछि उहाँहरु पछाडि फर्किने कुरा हो । मलाई लाग्छ दुई दल (कांग्रेस–एमाले) बाहेक संविधान संशोधनका लागि तयार हुँदैनन् । र जनतालाई पनि त्यो सैह्य हुँदैन । त्यसकारण संविधान संशोधन उहाँहरुले भनेको जस्तो सहज छैन ।