काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताएका छन् ।
उनले सो सहमती कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताए । सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमती कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरे । उनले सो सहमती कार्यान्वयनका लागि वातावरण निर्माण गर्ने कुरामा पनि पार्टी लाग्नुपर्ने बताए ।
महामन्त्री थापाले सोही सहमतीको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए ।
उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतीको आधारमा सरकार गठन भएको छ । सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । २ वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौं ।
तर यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने सन्दर्भमा यसको वातावरण निर्माण गर्ने कुरामा जिल्ला तहमा तलपनि हामीले वातावरण बनाउनु पर्नेछ । यो सात बुँदे सहमतीको बारेमा आजै न्युनतम साझा कार्यक्रम पनि बन्छ, सार्वजनिक हुन्छ ।’
महामन्त्री थापाले स्थानीय तहमा हुने बेरुजु अन्त्यका लागि पनि पार्टीका जनप्रतिनिधिहरुलाई पहल गर्न निर्देशन दिए ।