logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • कोरियन लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को काम ४२ प्रतिशत

    कोरियन लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को काम ४२ प्रतिशत

    1.4K
    Shares
    कोरियन लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को काम ४२ प्रतिशत

    काठमाडौं । कोरियाली तथा नेपाली संयुक्त लगानीमा निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको ४२ प्रतिशत काम सकिएको छ । आयोजनाको अझै ५८ प्रतिशत काम पुरा गर्न बाँकी छ । माथिल्लो त्रिशूली–१ को निर्माण २०७८ पुसबाट सुरु भएको हो ।

    यद्यपि, आयोजनाको औपचारिक उद्घाटन २०८० भदौ २६ गते भएको थियो । त्यसबेला आयोजनाको २२ प्रतिशत काम सकिएको थियो । आयोजना २०८३ को मंसिर (२०२६ डिसेम्बर) भित्र सक्ने लक्ष्य राखिएको छ ।

    आयोजनाको साढे ९ किलोमिटर लामो मुल सुरुङको काम अन्तिम चरणमा पुगेको छ । मुल सुरुङ खन्न अब २.५ किलोमिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

    अहिलेसम्म आयोजनाको विद्युतगृहको काम आधा सकिएको छ । विद्युतगृहमा कंक्रेटिङका साथै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण पूर्वाधार तयारीको काम भइरहेको आयोजना स्रोतले जनाएको छ । बाँध निर्माण काम आधा बाँकी छ । वर्खा सकिएपछि बाँध निर्माणको कामले गति लिने स्रोतको भनाई छ ।

    आयोजनाको सिभिल निर्माणको काम पावर चाइनाले गरिरहेको छ भने इलेक्ट्रोमेकानिकल उपकरण निर्माण तथा जडानको ठेक्का एन्ड्रिज हाइड्रोले पाएको छ । आयोजना बनाउन कूल ६४ करोड ७० लाख डलर (७० अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।

    काममा अवरोध र प्राविधिक समस्या नआए निर्धारित समयमा आयोजनाको काम सकिने विकासकर्ता कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता कोरियाको कोरिया साउथ–इस्ट पावर (कोइन) रहेको छ । आयोजना निर्माणका लागि कोइनसहित ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम लगानीकर्ताको स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।

    आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा कोरियाको डुसान एनबेलेटी कम्पनीले काम गर्दै आएको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायतको सेयर लगानी छ ।

    आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली प्रस्तावित २२० केभी चिलिमे हबमा जोडिने भएको छ । ४ वटा टावर राख्ने काम बाँकी छ ।

    उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

    काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend