logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अमेरिकामा राष्ट्रपति निर्वाचन:

    कमला ह्यारिस र डोनाल्ड ट्रम्पका यस्ता छन अर्थतन्त्र सुधार र सामाजिक सुरक्षा नीति

    कमला ह्यारिस र डोनाल्ड ट्रम्पका यस्ता छन अर्थतन्त्र सुधार र सामाजिक सुरक्षा नीति

    511
    Shares
    कमला ह्यारिस र डोनाल्ड ट्रम्पका यस्ता छन अर्थतन्त्र सुधार र सामाजिक सुरक्षा नीति

    एजेन्सी । अमेरिकामा राष्ट्रपतिको निर्वाचन जति नजिक आउँदै छ त्यति नै चुनावी प्रचार अभियान तीव्र गतिमा भइरहेको छ । आसन्न निर्वाचनमा डेमोक्याट्रिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा छ । अमेरिकी जनताले यि दुई मध्ये एक जनालाई रोज्न पाउने छन् ।
    मतदातालाई आफूतिर तान्न ह्यारिस र ट्रम्पले आकर्षक नीति लिएका छन् ।

    अर्थतन्त्र

    अर्थतन्त्रका विषयमा ह्यारिस र ट्रम्पबीच फरक नीति रहेको छ । अक्सर डेमोक्याट्रिक पार्टीले धनीलाई बढी कर लगाएर गरिवको उत्थान गर्नुपर्ने नीति लिएको छ भने रिपब्लिकनको नीति धनीलाई कर कम गर्ने रहेको छ ।

    ह्यारिसले पहिलो प्राथमिकतामा कामकाजी परिवारहरूको खाना र आवासको खर्च कम गर्ने प्रयास हुने बताएकी छिन् । यस्तै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्ने र पहिलो पटक घर किन्नेहरूलाई ऋणमा सहुलियत दिनुका साथै आवास क्षेत्रमा विस्तार गर्ने वाचा गरेकी छिन् ।
    यता ट्रम्पले मूल्यवृद्धि नियन्त्रण र अमेरिकामा सबैका लागि सहज तथा कम खर्चिलो बनाउने वाचा गरेका छन् । उनले ब्याजदर घटाउने बताएका छन् । अमेरिकामा ब्याजदर अहिलेसम्मको उच्च विन्दुमा पुगेको छ । यद्यपि त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ५० प्रतिशत विन्दुले घटाएर ४.७५ देखि ५ प्रतिशतमा झारेको छ । यद्यपि ब्याजदर बजारले निर्धारण गर्ने भएकाले राष्ट्रपतिको नियन्त्रणमा हुँदैन । आप्रवासीप्रति ट्रम्प आक्रमक देखिएका छन् । उनले कागजपत्र नभएका आप्रवासीहरूलाई फिर्ता पठाएपछि आवास क्षेत्रमा परेको दबाव कम गर्न सकिने बताएका छन् ।

    कर नीति

    अमेरिकी चुनावमा प्रभाव पार्ने अर्को मुद्धा हो कर । ह्यारिस ठूला व्यापारिक घरानाहरू र वर्षको चार लाख डलरभन्दा बढी आम्दानी गर्नेलाई कर बढाउन चाहन्छिन् । यस्तै उनी करको बोझलाई कम गर्ने कैयौंं योजनाहरू पनि लागु गर्न चाहन्छिन् । यसबाट राजस्व संकलन बढ्ने उनको भनाई छ । राजस्व र खर्चबीच फराकिलो अन्तरले गर्दा अमेरिकी सरकारले वर्षेनी खर्बौं डलर घाटा बजेट सार्वजनिक गर्दै आएको छ । अमेरिकाको ऋण बढेर नयाँ रेकर्ड कायम भएको छ । अहिलेसम्म ३ सय खर्ब डलर बढी ऋण रहेको छ ।

    यस्तो अवस्थामा यता ट्रम्प खर्ब डलर राजस्व घट्ने गरी कर कटौती गर्ने पक्षमा उभिएका छन् । त्यसमा उनले सन् २०१७ मा गरेको कर कटौतीको विस्तारित रूप पनि छ । त्यसले मुख्यतया धनीहरूलाई नै सहयोग पुगेको थियो । त्यसरी कटौती गर्दा राजस्व घटे पनि उच्च आर्थिक वृद्धि र आयातमा लगाइने करका माध्यमबाट पूर्ति गर्ने उनको तर्क छ ।

    विश्लेषकहरू दुवै किसिमका नीतिका कारणबाट व्यापक मन्दीको अवस्था उत्पन्न हुन सक्ने ठान्छन् । दुईमध्ये ट्रम्पको नीतिले त्यसलाई अझ बढाउन सक्ने उनीहरूको आकलन छ ।

    व्यापार

    ह्यारिसले आयातमा उच्च कर लगाउने ट्रम्पको योजनाको आलोचना गरेकी छन् । त्यसले कामकाजीहरूलाई वार्षिक रूपमा ४ हजार डलर भार थप्ने दाबी गरेकी छिन् । उनले आयातमा लाग्ने करबारे थप लक्षित योजनाहरू अघि सार्ने अपेक्षा गरेकी छिन् ।

    ट्रम्पले आफ्नो चुनावी अभियानमा करनीतिलाई केन्द्रमा राखेका छन् । उनले विदेशबाट आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । चीनबाट आयात हुने वस्तुमा थप कर लगाउने योजना अघि सारेका छन् ।
    गर्भपतनसम्बन्धि नीति

    अमेरिकी चुनावको अर्को महत्वपूर्ण मुद्धा भनेको गर्भपतनको कानूनी मान्यता हो । डेमोक्याट्रिक उम्मेदवार ह्यारिसले गर्भपतनको विषय आफ्नो अभियानको केन्द्रबिन्दुमा राखेकी छिन् । उनले गर्भपतनलाई कानुनी मान्यता दिने भन्दै राष्ट्रव्यापी रूपमा प्रजनन अधिकारलाई सुरक्षित गर्ने कानुनमा जोड दिएकी छिन् । राष्ट्रपतिका अर्का उम्मेदवार ट्रम्पले गर्भपतनसम्बन्धी मामिलामा स्पष्ट हुन सकेका छैनन् । यसको प्रत्यक्ष फाइदा ह्यारिसलाई हुने देखिएको छ ।

    ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको सर्वोच्च अदालतमा नियुक्त गरेका तीन न्यायाधीशहरू गर्भपतन गर्न पाउने संवैधानिक अधिकारलाई उल्ट्याउने कार्यमा निर्णायक रहेका थिए ।

    आप्रवासन

    ह्यारिसलाई उपराष्ट्रपतिको हैसियतमा दक्षिणी सीमा क्षेत्रमा उत्पन्न आप्रवासनसम्बन्धी संकटको मुख्य कारणलाई सम्बोधन गर्ने जिम्मा दिइएको थियो । उत्तरतर्फ हुने आप्रवासी प्रवाहलाई रोक्नका लागि क्षेत्रीय लगानी बढाउन अर्बौं डलर निजी क्षेत्रको रकम उठाएर सहयोग गरिएको थियो । २०२३ मा सबैभन्दा धेरै मानिस मेक्सिकोको सीमा हुँदै अमेरिका भित्रिएका छन् ।

    तर, त्यसपछि भने त्यसरी आउनेहरूको संख्यामा कमी आएको छ । अहिलेको चुनावी अभियानमा ह्यारिसले आप्रवासन मुद्धामा कडा अडान लिएकी छिन् । क्यालिफोर्निया राज्यमा सरकारी अभियोजनकर्ता बनेर काम गर्दा आफूले मानवतस्करहरूविरुद्ध काम गरेको अनुभवमा जोड दिएकी छन् ।

    ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गरेर पर्खाल लगाउने योजनालाई पूरा गर्ने वाचा गरेका छन् ।
    उनले सर्वाधिक संख्यामा अमेरिका प्रवेश गरेका र कागजपत्र नभएका आप्रवासीलाई देश निकाला गर्ने घोषणा पनि गरेका छन् ।

    विदेश नीति

    ह्यारिसले युद्ध जति लामो समयसम्म गए पनि युक्रेनलाई समर्थन गर्ने वाचा गरेकी छन् । उनले आफू निर्वाचित भएमा २१औं शताब्दीको प्रतिस्पर्धामा चीनले होइन, अमेरिकाले जित्ने सुनिश्चित गर्ने बताएकी छन् ।

    लामो समयदेखि इजरायल र प्यालेस्टाइन दुई राष्ट्रबीचको युद्ध समाधानमा जोड दिँदै आएकी ह्यारिस गाजामा युद्धको अन्त्य चाहन्छिन् ।

    ट्रम्पको विदेशनीति एकाँकी छ र उनी अमेरिका संसारका विभिन्न स्थानमा भएका द्वन्द्वबाट आफैँ अलग हुनुपर्छ भन्ने चाहन्छन् ।

    ट्रम्पले रुससँग सम्झौताका माध्यमबाट २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन्। त्यसलाई डेमोक्याटहरूले पुटिनलाई प्रोत्साहन मिल्ने आरोप लगाएका छन् ।
    ट्रम्प इजरायलको पक्षमा उभिएका छन् । उनले गाजाको युद्ध कसरी अन्त्य गर्न सकिन्छ भनेर खासै चर्चा गरेका छैनन् ।

    जलवायु परिवर्तन

    ह्यारिसले उपराष्ट्रपतिका रूपमा इन्फ्लेसन रिडक्शन एक्ट पारित गराउन सहयोग गरेकी थिइन् । उक्त कानुनले नवीकरणीय ऊर्जामा सयौँ अर्ब डलर लगानी गर्ने तथा विद्युतीय कारमा सहुलियत दिने एवं कर फिर्ता दिने कुरा समेट्छ ।

    तर उनले ग्यास तथा तेललाई पुन : प्राप्त गर्ने पर्यावरणवादीहरूले व्यापक आलोचना गरेको एउटा तरिकाबारे आफ्नो पुरानो अडान छाडेकी छिन् ।

    ट्रम्पले ह्वाइटहाउसमा रहँदा पर्यावरण संरक्षणसम्बन्धी सयौँ प्रावधान उल्ट्याएका थिए । त्यसमा ऊर्जा केन्द्रहरू र सवारीसाधनबाट हुने कार्बन डाइअक्साइडको उत्सर्जनमा कटौती गर्नेसहितका कुराहरू छन् ।

    आफ्नो चुनावी अभियानमा उनले आक्र्टिक क ड्रिलिङलाई विस्तार गर्ने वाचा गरेका छन् । उनी विद्युतीय कारको विपक्षमा उभिएका छन् ।

    स्वास्थ्योपचार

    अमेरिकामा चुनावको अर्को प्रमुख मुद्धा हो स्वाथ्य । ह्यारिस चिकित्सकीय सिफारिस भएका औषधिहरूको खर्च घटाउने तथा इन्सुलिनको मूल्य ३५ डलरमा सीमित गर्ने ह्वाइटहाउस प्रशासनमा थिइन् ।

    ट्रम्पले अफोर्डेबल केअर एक्ट लाई खारेज गर्ने आफ्नो प्रयास नदोर्होयाउने बताएका छन् । उक्त कार्यक्रमले लाखौँ थप मानिसहरूलाई बिमाको सुविधा दिएको थियो ।

    उनले करदाताको योगदानमा आधारित प्रजनन उपचारको योजना अघि सारेका छन् । त्यसलाई सदनमा रिपब्लिकनहरूले नै अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ ।

    अपराध

    ह्यारिसले सरकारी वकिल भएर काम गर्दा आफ्नो छवि स्वच्छ रहेको देखाउने प्रयास गर्दै आएकी छिन् । उनले ट्रम्प भने अपराधमा दोषी ठहर व्यक्ति भएको बताउने गरेकी छन् ।

    ट्रम्पले लागुपदार्थ तस्करी गर्ने गिरोहहरूलाई छिन्नभिन्न पार्ने, विभिन्न आपधाराधिक गिरोहबीच हुने हिंसा अन्त्य गर्ने र डेमोक्याटहरूले शासन गरिरहेका सहरको पुनर्निर्माण गर्ने वाचा गरेका छन् । उनका दाबीमा ती सहरमा व्यापक अपराध हुने गरेको छ । (बीबीसीको सहयोगमा)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend