काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता हुने पक्का भएको छ । उनीहरुबीच स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे भेटवार्ता तय भएको हो । यतिखेर प्रधनमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्क पुगेका छन् ।
यसअघि दुइ देशका प्रधानमन्त्रीको भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले निकै प्रयास गरेको थियो । नेपालमा प्रधानमन्त्री आएदेखि पिहलो भेट भारत गर्ने पहिलेको प्रचलन अनुसार भारत जाने समय नभएको र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा पनि नआएकाले सो भ्रमण अघि दुइ देशका प्रधानमन्त्रीबीचको भेटलाई बढी जोड दिइएको थियो ।
यस कार्यका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारत भ्रमणमा गएका बेला पनि पहल गरेको परराष्ट्र स्रोत बताउँछ । सो भेटका विषयमा मन्त्री डा राणाले भारत गएका बेला प्रधानमन्त्री ओलीसँग कुरा राराखेकी थिइन् । कुराकानीका क्रममा त्यस समय उहाँहरुबीच बैंककमा हुन लागेको बिमस्टेकमा सो भेट हुने निश्चित भएको थियो । तर पछि सो सम्मेलन स्थगित हुन पुगेपछि यो भेटवार्ता अनिश्चित बनेको थियो ।
त्यसपछि सो भेटवार्ताका लागि उपयुक्त स्थान संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला हुने भनी परराष्ट्रमन्त्री डा राणाले प्रयास थालेकि थिइन् । न्युयोर्कमा भेट्ने प्रबन्ध मिलाउन प्रधानमन्त्री ओलीले पनि मन्त्री डा राणालाई पटक पटक निर्देशन दिएका थिए ।
ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले शनिबार मात्र सार्वजनिक गरेको छ । तर पनि सो भेट भने मन्त्री डा राणा क्यानाडा जानु अघिल्लो दिन अर्थात् भदौ ३० गते नै तय भएको थियो । सो दिन नै परराष्ट्र मन्त्री डा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरका बीचमा टेलिफोनमा कुराकानी भएको थियो । सो फोनवार्तामा नै दुई देशका प्रधानमन्त्रीबीच भेट हुने तय भएको थियो । तर अमेरिकाको स्थानीय समयअनुसार सेप्टेम्बर २२ साँझ साढे ५ बजेको समय भने नेपाल र भारत दुवैतर्फबाट तय भएको थियो ।
नेपाली समय अनुसार सोमबार बिहानीपख मोदी बसेको होटलमा नै प्रधानमन्त्री ओली पुग्नेछन् । सो भेट करिब आधा घण्टाको हुने परराष्ट्र स्रोतले जानकारी दियो । भेटका एजेण्डा भने खासै भनिएको छैन । तर पनि नेपालमा नयाँ सरकारको प्रधानमन्त्रीका रुपमा ओलीको यो पहिलो पटक भेट हुने भएकाले यो भेटमा मोदीको नेपाल भ्रमण एवं ओलीको भारत भ्रमणका विषयमा कुराकानी हुने बताइएको छ । भेटावार्ताका अरु एजेण्डा बताइएको छैन ।
तर पनि नेपाल र भारतका परराष्ट्रमन्त्री र उच्च अधिकारीहरु नै त्यहाँ रहेकाले भेटवार्ताका केही एजेण्डाहरु तय हुन सक्ने परराष्ट्रका एकजना उच्च अधिकारीले जानकारी दिए । ओली प्रधानमन्त्री भएपछि मोदीले भारत भ्रमणको निम्ता नदिएकाले यो विषयले नेपालमा निकै चर्चा पाएको थियो । परराष्ट्रमन्त्री डा राणालाई भारतका विदेश सचिवले भारत भ्रमणको निम्ता दिएका थिए र उनले भ्रमण पनि गरेकि छिन् ।
परराष्ट्रमन्त्री डा राणालाई भारतले उच्च महत्वका साथ सम्मान दिएको तर प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्ता पनि नदिएकाले यस विषयले नेपालमा निकै चर्चा पाइरहेको छ । कतिले त यसलाई भारतले परराष्ट्रमन्त्री डा राणालाई प्रधानमन्त्री बनाउन लागेको भन्ने चर्चा पनि गरेका थिए ।
त्यसैले न्युयोर्कमा हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ । हुनत प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ । तर पनि ती अरु सबै भेटलाई भन्दा भारतीय प्रधानमन्त्रीसँग हुन लागेको यस भेटलाई सबैले चासोका साथ हेरेका छन् ।