logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजारीकरणको खाँचोमा अल्लो, प्रशोधन गरे १३ अर्बसम्म आम्दानी हुने

    बजारीकरणको खाँचोमा अल्लो, प्रशोधन गरे १३ अर्बसम्म आम्दानी हुने

    1K
    Shares
    बजारीकरणको खाँचोमा अल्लो, प्रशोधन गरे १३ अर्बसम्म आम्दानी हुने

    काठमाडौं । नेपालीको सामाजिक स्वभाव नै छ, कतै कुनै नयाँ ठाउँ वा नयाँ क्षेत्रमा काम विशेषले पुग्दा होस् वा घुमघाममा होस्– आफ्नो थातथलो फर्किदा परिवारका सदस्य, नातागोता, कुलकुटुम्व, इष्टमित्र, छरछिमेकी वा मनले खाएकाहरूलाई कोशेली लिएर फर्किने ।

    त्यसरी काम विशेषले होस् वा घुमघामको आदतले सङ्खुवासभा पुगेकाहरू मध्ये अधिकांशले अल्लो सामग्री कोशेली लिएर फर्किने गरेका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोक बिजुली अफिस छेऊमा ‘कोशेली घर’ सञ्चालन गर्दै आएका ३३ वर्षीय विश्व लिम्बू आफ्नो पसलमा आउने अधिकांशले अल्लोका उत्पादन कोशेलीका रूपमा लिएर जाने गरेको बताउँछन् ।

    वि.स.२०७६ सालसम्म विश्व लिम्बूको अधिकांश समय कोट्याएर बित्ने गरेको थियो । तर, चार वर्षयता उनको अधिकांश समय अल्लोका उत्पादनहरू कोशेलीका रूपमा किन्नेहरूलाई, सम्झाउँदै, बुझाउँदै बित्ने गर्छ । कोभिड–१९ को महामारीसँगै आर्थिक गतिविधिमा प्रशस्त कठिनाइ आएपछि विश्व लिम्बूको अलैँची खरिदबिक्रीमा मन मरेर गयो ।

    सोही बखतमा घरेलु तथा साना उद्योग र डिभिजन वन कार्यालय सङ्खुवासभाले ०७७ सालमा अल्लोका उत्पादनहरूको व्यवसायिकताका लागि ‘कोशेली घर’ सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म वा सङ्घसंस्थालाई आह्वान गरेपछि विश्व लिम्बूले पनि कोशेली घर सञ्चालनका लागि इच्छा व्यक्त गर्दै कागजात र आवश्यक विवरण पेस गरे । घरेलु र डिभिजन वन कार्यालयले बिना ब्याज एक वर्षका लागि ५ लाख रुपैयाँ ऋण धन दिएपछि कोशेली घर सञ्चालनमा आयो । जिल्लामा कोशेली घर सञ्चालनमा आएसँगै प्रतिदिन अल्लोको व्यापारको सम्भावना बढेर गएको छ ।

    नेपाली कच्चा पदार्थ, नेपाली सीप र नेपाली प्रविधिसँगै हातबुना कपडा अल्लो विस्तारै विदेशीको रोजाइमा समेत पर्न थालेको छ । गर्मीयाममा शीतल हुने र जाडोयाममा न्यायो हुने अल्लोलाई बजारीकरण गर्न आवश्यक देखिएको छ ।

    भिसकस् काटीकुटी अल्लोजस्तै देखिने धागो हो । जुन धागो भारतले हालका दिनमा उत्पादन गर्दै आएको छ । भिसकस्को प्रयोग गरी भारतमा तयारी कपडा उत्पादन हुने र अल्लोको कपडा भनि बजारमा पुगेका कारण नेपाली अल्लोको पहिचान गुम्दै जाने खतरा रहेको अल्लो समाज, सङ्खुवासभाका अध्यक्ष जङ्ग कुलुङको भनाइ छ ।

    सङ्खुवासभामा अल्लो उत्पादनका लागि भनेर कम्पनी नै खडा भने भइसकेको छैन । घरेलु तथा साना उद्योग र डिभिजन वन कार्यालयले अल्लो उत्पादनलाई व्यावसायिक बनाउन कोसिस गरे पनि यसले अल्लो उत्पादन उद्योगकै आकार लिइ नहालेको कुलुङको भनाइ छ ।

    विश्व लिम्बूको ‘सङ्खुवासभा अल्लो कोशेली घर’ मा हिजोआज आन्तरिक पर्यटक, सेना, प्रहरी, राजनीतिज्ञलगायतका ग्राहकहरू अल्लोका उत्पादन सोध्दै र खोज्दै किन्न पुग्ने गरेका छन् । लिम्बूले भने, ‘जिल्लामा अल्लो उत्पादन कम्पनी नै त स्थापना भइसकेको छैन, तर सहकारी र केही व्यक्तिहरू मिलेर अल्लो बुन्ने र अल्लो बेच्ने पसल सञ्चालनमा ल्याएका छन्, आउने दिनमा अल्लोको उत्पादन र यसबाट उत्पादित सामग्रीले भने लघु उद्योगको रूप लिन सक्नेछ ।’

    अल्लो व्यवसायीहरूको हकहित र कल्याणका लागि जिल्लामा ०८० भदौमा अल्लो व्यवसायी सङ्घ स्थापना गरिएको छ । जिल्लामा अहिले १२ देखि १५ ओटासम्म अल्लोका सामग्री उत्पादन गर्ने र बेचविखन गर्ने पसलहरू छन् । विश्व लिम्बूबाहेक अरू सबैको निजी लगानी हो भने लिम्बूलाई अल्लो कोशेली घर सञ्चालनका लागि राज्यले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    राज्यले दिएको सहयोगमा अरू ७ लाख थप गरी १२ लाख रुपैयाँ लगानीमा स्थापना गरिएको ‘सङ्खुुवासभा कोशेली घर’ले वार्षिक २५ देखि ३० लाखको कारोबार गर्दै आएको छ । पाटबाट धागो बनाउने र धागोबाट अल्लोका सामग्री बनाउने कार्यमा ४० जनालाई रोजगारी दिइएको छ ।

    प्रशोधन गर्न सके १३ अर्ब बढी कारोबार

    अल्लो उत्पादन गरेर १३ अर्ब रुपैयाँ बढीको कारोबार गर्न सकिने एक अध्ययनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्स्पोटर्स एसोसिएसनले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु सम्बन्धी डेढ वर्षअघि गरेको अध्ययनले संकलन भइरहेको अल्लोलाई मात्रै प्रशोधन गरी कपडा र वस्तुहरु उत्पादन गर्न सकेमा १३ अर्ब २२ करोड रुपैयाँ व्यापार गर्न सकिने अध्ययनले देखाएको छ ।

    अल्लोको रेशा कटानदेखि तयारी मालवस्तु बनाउन कुल लागतको करिब ५० प्रतिशत रकम ज्यालामा खर्च हुने देखाएको छ । अध्ययनलाई आधार मान्दा साढे ६ अर्ब रुपैयाँ ज्याला तथा कामदार पारिश्रमिक दिनु पर्ने हुन्छ ।

    अर्बौं रुपैयाँ ज्यालामा जाने भएकाले दुर्गम भेगका जनातको जीवनस्तरमा समेत गुणात्मक सुधार आउने अध्ययनले देखाएको छ । अध्ययनअनुसार प्रत्यक्ष अप्रत्यक्ष गरी कूल १० हजारले रोजगारी पाएका छन् ।

    नेपालमा ८ हजार ३ सय ९५ टन अल्लो उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । हाल उत्पादन अल्लोलाई पम्परागत चर्खा र तानको प्रयोग गरी कपडा उत्पादन भइरहेको छ ।

    अध्ययन अनुसार अल्लोमा अन्य रेशा मिश्रण गर्दा १ किलो अल्लोको रेशाबाट साढे १ किलो धागो र त्यसबाट साढे ४ मिटर कपडा उत्पादन हुने देखिन्छ । नेपालमा प्रतिव्यक्ति करिब ३० मिटर कपडा खपत हुने देखिएको छ । सो आधारमा वार्षिक करिब ९० करोड मिटर कपडा खपत हुने गरेको देखिन्छ । अल्लोलाई राष्ट्रिय रेशाको रूपमा विकास गर्ने हो भने अधिकांश हिस्सा अल्लोले विस्थापन गर्न सक्ने देखिन्छ । यो लक्ष्य हासिल गर्न नेपालले करिब ६ लाख टन अल्लो संकलन गर्नु पर्ने अध्ययनले देखाएको छ ।

    हेम्प यार्न र फेब्रिकका प्रमुख आयातकर्ता मुलुकहरूमा स्पेन, जर्मनी, चेक गणतन्त्र, नेदरल्याण्ड्स, लक्जम्बर्ग, बेल्जियम, पाकिस्तान, टर्की स्वीट्जल्याण्ड र संयुक्त राज्य अमेरिका प्रमुख रूपमा रहेका छन् ।

    अध्ययन अनुसार एक केजी काँचो अल्लोको रेशाबाट कम्तीमा आधा केजी अल्लो धागो उत्पादन हुन्छ । एक केजी अल्लोबाट करिब ३ मिटर कपडा उत्पादन हुने गर्दछ । तयारी मालवस्तु बनाउँदा तयारी मालवस्तुको मूल्य ३ हजार १५० रुपैयाँ पर्ने देखिन्छ । यसरी काँचो अल्लोबाट तयारी मालवस्तु बनाउँदा लाग्ने लागतमा आधा जति अर्थात् १ हजार ५७५ रुपैयाँ ज्याला लाग्ने अध्ययनले देखाएको छ ।

    यदि अल्लोको उत्पादनलाई जोड दिने हो भने वार्षिक करबि ९० करोड मिटर वस्त्र तथा १३ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात प्रतिस्थापन गर्न सकिने अध्ययनको दावी छ । हेम्प यार्न (धागो) र फेब्रिकको विश्व आयात ७ करोड युएस डलर बराबर ९८ अर्ब २८ करोड रुपैयाँ०को विश्व आयातमा नेपाली अल्लोका उत्पादनको निर्यातको हिस्सा बढ्नेछ ।

    अल्लो उत्पादन

    सङ्गखुवासभामा अल्लो खेती वि.स ०४६ देखि व्यावसायिक रूपमा गर्न थालिएको हो । नेपालको उच्च लेकाली भेग भएका जिल्लाहरु रोल्पा, रुकुम, म्याग्दी, बझाङ, अछाम, हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोटमा अल्लो उत्पादन हुने गर्दछ ।

    साथै, मध्य तथा सुदूर पश्चिमी पहाड र हिमालका जिल्लाहरूमा नेपालको कुल अल्लो उत्पादनको करिब ६० प्रतिशतको हाराहारीमा उत्पादन हुने गरेको अध्यनले देखाएको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन गरिन्छ ।

    अल्लोमा राज्यको चासो

    जिल्लामा पाट एक सिजनमा मात्र उत्पादन हुने भएकाले यसको व्यासायिक उत्पादनका लागि राज्यको ध्यान खिचेको छ । पाटको उत्पादनमा वृद्धि गरेर अल्लोका सामग्री बढी भन्दा बढी उत्पादन गरी अल्लोलाई उद्योगकै रूपमा स्थापित गर्नका लागि राज्यले अल्लो उत्पादनका विषयमा अनुसन्धान र खोज समेत गरेको छ ।

    पोखरा विश्व विद्यालय पुगेर पाट उत्पादनका विषयमा अध्ययन र अनुसन्धान गरिएको घरेलु तथा साना उद्योग कार्यालय, सङ्खुवासभाका प्रमुख प्रेमकुमार राईले बताए । राज्यले अल्लोको उत्पादनमा वृद्धि गर्न र यसबाट जिल्लामा उत्पादन हुने अल्लोको बजारीकरण गर्नका सरकारीस्तरबाट रिसर्च गरिएको प्रमुख राइको भनाइ छ ।

    अल्लोका तयारी साम्रगी

    अल्लोको कोटले विशेष ख्याती कमाएको छ । न्यूनतम २ हजार २ सयदेखि अधिकतम ५ हजार सम्ममा अल्लोका कोट पाइन्छ । गर्मीमा शीतलता र जाडोमा न्याय हुने भएका कारण अल्लोको महत्व बुझेकाहरूले झोला, लेडिज ब्याग, आउटर, सल, लेडिज जुत्ता, चप्पल, पर्सजस्ता विभिन्न उत्पादनहरू प्रयोग गर्दै आएका छन् ।

    (सुनौलो नेपालको वार्षिक संस्करणबाट)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend