logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • मुगु ६५औँ जिल्लाका रुपमा साक्षर घोषणा, साबिकको कर्णाली अञ्चलको पहिलो

    मुगु ६५औँ जिल्लाका रुपमा साक्षर घोषणा, साबिकको कर्णाली अञ्चलको पहिलो

    175
    Shares
    मुगु ६५औँ जिल्लाका रुपमा साक्षर घोषणा, साबिकको कर्णाली अञ्चलको पहिलो

    सनत हमाल/मुगु । हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

    मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तह छन् । सबै स्थानीय तह यसअघि साक्षर घोषणा भएसँगै सोमबार मुगु जिल्लालाई देशकै ६५ औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरीएको हो ।

    छायाँनाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६.५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । साक्षर हुन तोकिएका सूचकहरु पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की, छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामलगायत पालिका प्रमुखहरुले सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गर्दै मुगु जिल्लालाई साक्षर घोषणा गरेका छ्न् ।

    तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायाँनाथ रारा नगरपालिकालाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिकालाई असोज ४ गते र सोरुगाउँपालिकालाई असोज ५ गते गरी चार वटै स्थानीय तह साक्षर घोषणा पछि सोमबार मुगु जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिएको छ ।

    नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाईएको छ ।

    हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीति अनुरुप मुगु जिल्लाको साक्षरता सुचक ५० प्रतिशत भन्दा माथि पूरा भएकाले साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए ।

    गत भाद्र ३० गते जिल्ला सभाको बन्द सत्रमा पालिका हुँदै जिल्लालाई साक्षर जिल्ला घोषण गरीने निर्णय बमोजिम मुगु जिल्ला साक्षर जिल्ला घोषणा गरीएको समन्वय प्रमुख कार्कीले बताए ।

    ‘हिजो गाउँ घरमा प्रदेशबाट आफन्तहरुले पठाएको चिठी पढनका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिडनु पर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन । महिला दिदीवहिनिहरु कोहि साक्षर थिएनन्, कतै बजार तिर जाँदा सामानहरुको मूल्य अनुसार नगद दिन सक्ने साक्षर थिएनन्, आज सबै जान्न सक्ने भएका छन्’ नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भने ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्ग मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरुले १२ सुचकहरु मध्ये ६ सुचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सुचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउँदा ध्यान दिन सुझाव दिए ।

    नागरिक अगुवा रुप बहादुर मल्लले साक्षर घोषणामा मात्र सिमित नराखेर अब देखि आफ्ना व्यवहार, आचरण र कृयाकलापमा पनि साक्षरताको रुप देखाउनु पर्नै बताए ।

    सामुदायिक स्वास्थ्य इकाइहरु प्रदेश सरकारले गाउँ–गाउँ खोले पनि बजेट नदिँदा चलाउन समस्या भएकाले कि बजेटको व्यवस्था गर्न कि खारेज गरिदिन सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहिले कार्यक्रममा उपस्थित सामाजिक विकास मन्त्री घनश्याम भण्डारी मार्फत कर्णाली प्रदेश सरकारलाई आग्रह गरे ।

    छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताए । घोषणाले मात्र नभई छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्र स्थापना भएका छन् । त्यसै अनुरुप अध्ययनका क्रियाकलाप अगाडी बढाई छायाँनाथ रारा नगरपालिकाकालाई सतप्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए ।

    उनले भने, ‘संघीयताबारे तथ्य बाहिर गएर अफवाह फैलाइएको छ । वास्तवमा देश संघियतामा गएदेखी गाउँ–गाउँमा विकासको लहर छाएको छ । जनताहरुले गलत कार्यको स्वतन्त्र पूर्वक विरोध गर्न पाएका छन । दुर्गम गरिव निमुखा जनताका छोराछोरीले राज्यको राजनैतिक र प्रशासनिक नेतृत्व गर्न पाएका छन् ।’

    दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफुले कर्णाली प्रदेश सरकारमा उपलव्धिमुलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गरे ।

    मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।

    साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारी, निवर्तमान कर्णाली प्रदेशका मन्त्री एव मुगु जिल्ला प्रदेश ‘ख’ बाट निर्वाचित सांसद मङ्गल बहादुर शाही, जिल्ला समन्वय प्रमुख मन्जन बहादुर कार्की, छायानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम, खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही, सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीलगायत जिल्लाका सरोकारवाला निकाय, सरकारी कार्यालय प्रमुखहरु, गैरसरकारी संघसस्था प्रमुख, विधार्थीहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विधालयहरुले सास्कृतिक कार्यक्रम प्रदर्शन गरेर कार्यक्रम रोचक बनाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend