logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, बिहीबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

    सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, बिहीबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

    889
    Shares
    सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, बिहीबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

    बर्दघाट । निर्माण सम्झौता भएको झण्डै दश वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो पुल बनेको हो । असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घाटन गर्दैछन् ।

    पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदिमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन् । ‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रविन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अब बाध्यताबाट हामी मुक्त भएका छौं ।’

    २०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो ।

    स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यहि क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दवाव दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए ।

    पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले शहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।

    सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने कामले यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए । ‘आफ्नै भूमिभित्र जान पनि अर्काे देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन । ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ । अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ ।’ उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजोडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए ।

    नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुली पुगेको छ । करिव ३५० घरधुरी रहेको सुस्तापारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पुर्याइएको हो ।

    सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा विद्यतुीकरणका लागि पहल गरेका थिए । यसैबीच सांसद चौधरीले सुस्तापारीका बासिन्दालाई सहुलियतमा बिजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरेका छन् । उनले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको बिजुलीका लागि आग्रह गरेका हुन् ।

    ‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यहि पुलबाट बिजुली लैजाने प्रवन्ध गर्ने थियो । यो दुबै काम एकैपटक सम्पन्न भएको छ । अब सरकारले यहाँका नागरिकलाई सहुलियतको बिजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’ उनले भने । सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend