काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन रहेको, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट रहेको, १० हजार मेगावाटका आयोजना पिपिएको पर्खाइमा रहेको बताए । यस्तै अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताए ।
सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानाडाका लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गरेका छन् ।
नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको उनले बताए ।
अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए । ४० मेगावाट विद्युत थोरै लागे पनि बंगलादेशको विद्युत माग पुरा गर्न सन २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए ।
दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने भएकाले नेपालमा लगानी गर्न क्यानाडाका लगानीकर्तालाई कार्कीले आग्रह गरेका छन् ।