logo

२०८१ असोज १० बिहिबार

logo
  • बिहिबार, १० असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्न सक्छन् : अध्यक्ष दाहाल

    राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्न सक्छन् : अध्यक्ष दाहाल

    756
    Shares
    राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्न सक्छन् : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देशमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढ्दै गएको बताएका हुन् ।

    उनले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भुराजनीतिको इपिसेन्टर बन्ने अवस्था रहेको बताए । उनले नेपालको राष्ट्रिय स्वाधिनतामाथि दबाब र हस्तक्षेपहरु बढ्दै गएको पनि बताए । प्रतिक्रियावादी शक्तिहरु लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अगाडी बढिरहेका उनको भनाई छ ।

    उनले राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्नसक्ने भन्दै यि शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारको विरुद्ध महाअभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताए । उनले आन्दोलनको बलमा केही महिनाभित्रैमा परिस्थिति उल्ट्याउन सकिने विश्वास पनि व्यक्त गरे ।

    उनले भने – ‘नेपाल अहिले चलिराखेको भुराजनीतिको इपिसेन्टर हुने हो कि, त्यसको केन्द्रबिन्दु हुने हो कि ? विशाल भारत र चीनको बिचमा हुनुको नाताले र चीनसँगको प्रतिस्पर्धामा पश्चिमी राष्ट्रहरुको बढ्दो प्रतिष्पर्धाका कारणले र दुनियाँभरी चलेका राजनीतिक घटनाक्रमका कारणले स्थिति सामान्य छैन । नेपालको राष्ट्रिय स्वाधिनतामाथि जसरी दबाब र हस्तक्षेपहरु बढ्दै गएका छन् । जसरी प्रतिक्रियावादी शक्तिहरु कुनै न कुनै रुपले लोकतन्त्रका मान्यताहरु, संविधानका मुल्य र मान्यतामाथि प्रहार गर्ने ढंगले अगाडी बढ्दैछन् ।

    त्यसमा विदेशी शक्तिकेन्द्रहरुको पनि चलखेल बढ्दैछ । यस्तो परिस्थितिमा हाम्रो राष्ट्रिय स्वाधिनतामाथि गम्भीर चुनौती खडा भएको छ । यो परिस्थितिमा देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्ने, विदेशी चलखेलका विरुद्ध राष्ट्रिय शक्ति निर्माण गर्न सक्ने भनेको वामपन्थी शक्तिले नै हो । कम्युनिस्ट शक्तिले नै हो । माओवादी केन्द्रले नै हो । जबसम्म यसलाई बलियो बनाइँदैन । हामी राष्ट्रको रक्षा गर्न पनि सकिँदैन । मेरो नेतृत्वको सरकारले रेकर्ड बनाएकै हो ।

    भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो । भ्रष्टहरुलाई कारबाहीको दायरामा ल्याएकै हो । नेपालको इतिहासमा यति हाइप्रोफाइल नेताहरु र कर्मचारीलाई एकै साथ कारबाहीको घेरामा आएको कहिल्यै थिएन हामीले गरेकै हो । भुमाफियाका विरुद्ध पनि अभियान छेडेकै हो । यही लडाइको कारण दलालहरु, नोकरशाहहरु र विचौलियाहरुले तथाकथित संख्याको बलमा हामीलाई सरकारबाट बाहिरिन बाध्य पारेकै हुन् । म तपाईहरुलाई अपील गर्न चाहान्छु तपाईहरुको साथ भयो भने केही महिना भित्रमै परिस्थिति उल्ट्याइदिन सकिन्छ । जनताको जित सुनिश्चित गर्न सकिन्छ ।’

    अध्यक्ष दाहालले वामपन्थी एकताको सन्दर्भमा छिट्टै नै नयाँ खबर सुन्न पाइने बताए । उनले सके सहमतीमा र नसके प्रक्रियामा गएर नेतृत्व चयन गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend