logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छ : पर्यटनमन्त्री

    नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छ : पर्यटनमन्त्री

    315
    Shares
    नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छ : पर्यटनमन्त्री

    काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

    ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

    दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

    “नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ । हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ”, उनले भने, “पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य हो ।”

    पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढाइएको जानकारी दिए ।

    त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने बताए । दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।

    कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।

    सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

    नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउने क्रम जारी छ ।

    नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो । परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend