logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal
    समाचार विश्लेषण

    विद्युतीय गाडीमा जनताको लगानी, बालुवामा पानी हुने जोखिम

    विद्युतीय गाडीमा जनताको लगानी, बालुवामा पानी हुने जोखिम

    280
    Shares
    विद्युतीय गाडीमा जनताको लगानी, बालुवामा पानी हुने जोखिम

    काठमाडौं । २०५५ देखि नेपालको सडकमा चिनियाँ मोटर साइकलको एकछत्र राज थियो। त्यसबेला, अन्ना लिफान, डाइङ, हाटफोर्ड, सन्दिरोलगायत एक दर्जन बढी ब्राण्डका चिनियाँ मोटरसाइकलको सडकमा रजगज नै थियो ।
    चिनियाँ कम्पनीले नयाँ डिजाइनका साथ मोटर साइकल नेपालमा भित्रिएपछि भारतीय ब्राण्ड बजाज, यमाहा, हिरो होण्डा, टिभिएसलगायत मोटरसाइकको बजार खोस्ने अवस्थामा पुगेको थियो।

    तर, २०६० पछि सडकमा यो परिदृष्य फेरियो। नेपाली बजारमा रजगज गरेका चिनियाँ मोटरसाइकल विस्तारै हराए। अहिले ती चिनियाँ मोटरसाइकलको नेपालमा नामनिसान छैन्।
    नेपालमा चिनियाँ मोटरसाइकल बेच्ने डिलर भेटिने कुरै भएन। निम्न मध्यमवर्गले ऋण र तलब कटाएर किनेका मोटरसाइकल विग्रिएपछि बनाउन पाएनन्। उनीहरुको मोटरसाइकलको मूल्य केही वर्षमै शुन्यमा झर्योम। हजारौ नेपालीले आफ्नो पसिनाबाट किनेका सम्पत्ति मेटियो। चिनियाँ मोटरसाइकल मात्रै होइन झण्डै १५ वर्षअघि नेपालमा चिनियाँ गाडी पनि बिक्री भए।
    चेरी ब्राण्डका गाडी र जिली ब्राण्डका गाडी बिक्री भए। हेर्दा आकर्षक देखिने गाडी केही उपभोक्ताको नजरमा पर्‍यो। नेपालमा आधिकारिक बिक्रेता रहेका कम्पनीले एग्रेसिभ मार्केटिङ गरेका कारण केही सय गाडी पनि बिक्री भए। तर, दुई वर्षमै त्यो गाडी बिक्री हुन छाड्यो।
    गाडी बिक्री हुन छाडेपछि आधिकारिक बिक्रेता पनि हराए। गाडी किनेका ग्राहक विखलबन्दमा परे। अहिले पनि स्पेयर पार्ट्स नपाएर ती गाडी कवाडीमा बिक्री गरे। मात्रै १५ वर्षमा फेरि चिनियाँ विद्युतीय गाडी बिक्रीमा उभार आएको छ। हेर्दा आकर्षक र अत्याधुनिक सुविधासहित आएका गाडीमा नेपाली उपभोक्ता लोभिएका छन्। उपभोक्ताको आकर्षण देखिएपछि व्यवसायीबीच चिनियाँ ब्राण्ड ल्याउन दौडधुप चलेको छ।
    त्यो दौडधुप अनुसार अहिले चीनमा उत्पादन भएका जुनसुकै ब्राण्ड पनि नेपाल सहजै भित्रिरहेका छन्। उपभोक्ताले पनि १५ वर्षअघिको चिनियाँ गाडी र झण्डै २२ वर्षअघिको चिनियाँ बाइकको दुखद अन्त्यलाई विर्सिएर गाडी किनिरहेका छन्।
    केही ब्राण्डको नाम सुन्दा ती चीनमा पनि देखिन मुस्किल पर्छ। तर यहाँ उपभोक्ताले आँखा चिम्लिएर किनिरहेका छन्। चर्को मूल्यको पेट्रोल र सर्भिसिङ खर्च कम हुने भन्दै उपभोक्ताले चिनियाँ विद्युतीय गाडी किनिरहेका छन्। चीन सरकारले दिएको अनुदान र नेपाल सरकारले दिएको कर सहुलियतकै आधारमा उपभोक्ताले सस्तो देखेर चिनियाँ गाडी किनेका छन्। तर नेपाली उपभोक्ताले चीनले लिएको रणनीति हेरेका छैनन्।
    चीनले विश्वबजारमै अटोमोबाइलमा एकछत्र राज गर्न सयौं विद्युतीय ब्राण्डमा गाडी उत्पादन गरिरहेको छ। ती सबै गाडी कम्पनी भइरहन्छन् भन्ने कुनै ग्यारेन्टी छैन। केही वर्षपछि केही सीमित कम्पनीबाट गाडी उत्पादन गरेर अरु बन्द पनि गर्नसक्छ। एक अटोमोबाइल व्यवसायीका अनुसार चीनमा केही कम्पनीवाहेक अरु रहने कुनै निश्चतता छैन।
    उनले अझ उदाहरण दिँदै भने टोयोटा, फोर्ड, जनरल मोटर्स, भक्सवागन, होण्डा, हुण्डाईजस्ता कम्पनी वर्षोदेखि अनवरत रुपमा गाडी उत्पादन गरिरहेका छन्।
    तर नेपालमा आएका कतिपय चिनियाँ गाडी अर्को पल्ट उत्पादन हुन्छ की हुँदैन भन्ने पनि ग्यारेन्टी छैन। उनका अनुसार सरकारले आँखा चिम्लिएकै कारण नेपाल चिनियाँ इभीको डम्पिङ साइट बन्न लागिसकेको छ।
    अन्धधुन्द मापदण्ड विनै इभी गाडी आयात रोक्न ध्यान दिएको छैन। आयात भएका गाडीको गुणस्तर, कम्पनीले गाडी बिक्रीपछि दिने सुविधा, पार्टसलगायत दीगोपनाको पाटोलाइ नहेरी आयात गर्न दिइएको छ।
    नेपालमा भित्रिएका इभी गाडी आयातको अवस्था हेर्दा केही वर्षपछि चिनियाँ मोटरसाइकलको जस्तो स्थिति आउने देखिन्छ।

    अर्को समाचार  (चार्जिङ स्टेसन र सर्भिस सेन्टर नराखी जथाभावी गाडी आयातले उपभोक्ता ट्रयापमा पर्दै)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend