logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सान

    बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सान

    833
    Shares
    बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सान

    काठमाडौं । दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार १८ बढी आयोजनाहरुमा क्षति भएको बताए । उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको बताए ।

    उनले काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको बताए । उनले अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको जानकारीमा आएको बताए । उनले आयोजनामा बाढीका कारण दुई खालका क्षति भएको बताए । जलविद्युत आयोजनाको पावर हाउस, हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको बताए ।

    उनले बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उल्लेख गरे । उनले धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको बताए । उनले सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताए ।

    उनले आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने दाबी गरे । उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन जरुरी रहेको बताए । उनले सरकारसँग व्यापारिक उत्पादन मिति थप गर्न जरुरी रहेको बताए । बाढीमा क्षति पुगेका आयोजनाका लागि ल्याइने समानमा राज्यले लगाएको २८ प्रतिशत कर घटाउन उनले माग गरे । उनले गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको उल्लेख गर्दै भएका आयोजनाहरुमा सरकारले राहत र भ्याट छुट दिने भनेपनि एक वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेको बताए । उनले सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्नेगरी सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने बताए ।

    उनले भने, ‘विगतको भन्दा फरक र ठूलो बाढी आयो । काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको छ । हामीले धेरै आयोजनाहरुसँग समन्वय गर्न खोजेका छौं । अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको कुरा जानकारीमा आएको छ । आयोजनामा दुई खालका क्षति भएका छन् । जलविद्युत आयोजनाको पावर हाउस, हेडवक्र्स, सामानहरु बगाएको छ । कुनै आयोजनामा धेरै क्षति भएको छैन तर आयोजना जाने पहुँच मार्ग टुटेको छ । पहुँच मार्ग बनाएर आयोजना पुग्नसक्ने अवस्था छैन ।

    त्यो बनाउनका ६ महिना लाग्नसक्छ । त्यसले त्यस्ता आयोजनाहरु लागत बढ्ने र सम्पन्न हुन नसक्ने अवस्थामा पुग्ने हुन्छ । धेरै जसो आयोजनाहरु डुबानमा परेका छन् । बाढीले जलविद्युत आयोजनामा धेरै खालका असर पर्ने भएको छ । आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भयो । नयाँ सामान ल्याएर स्टोर गरेका डुबाउने,बगाउने काम गरेको छ । त्यस्ता समान फेरि ल्याउनुपर्ने भयो । आयोजनाको व्यापारीक उत्पादन मिती तोकिएको हुन्छ । तर केही समय अघिदेखि समयमा उत्पादन दिन सकेका छैनन् ।

    त्यो कारण बाढी हो । धेरै आयोजनाहरुको समय थप हुनुपर्छ । बगाएका पुल बन्नुपर्छ । बाढीमा क्षति पुगेका आयोजनाहरुको लागि ल्याउने समानमा राज्यले कर लगाउनु हुँदैन । सरकारले अहिले २८ प्रतिशत कर लगाउने काम भएको छ । गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको थियो । सरकारले राहत र भ्याट छुट दिने कुरा भएपनि एक वर्ष पूरा नहुँदै फेरि बाढी आएको छ । सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्ने गरी सहुलियत र छुटको व्यवस्था गर्नु जरुरी छ ।

    आयोजनाहरुको डिजाइनको कारण क्षति पुगेको छैन । प्राय सबै प्राकृतिक विपतिकै कारण देखिएका छन् । कति रकम बराबरको क्षति भयो मूल्याङ्कन गरिरहेका छौं । २० आयोजनाको क्षति भएको छ । त्यसमा एक अर्ब बढीको क्षति भएको अनुमान छ ।’

    बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको वागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ । पाँचथरमा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजनामा गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । यो पटक पनि पावर हाउस डुबानमा परेको छ ।

    पाँचथर पावरद्वारा प्रवद्र्धित १४।९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो । साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ ।

    सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रशारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ । सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट) को पहुँच मार्गमा ठूलो क्षति पुगेको छ ।

    माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मेगावाट)को क्याम्प हाउस र पहुँच मार्गमा क्षति पुगेको छ । आयोजनाको ३ वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) पहुँचमार्ग,पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ ।

    सुपर त्रिशुली जलविद्युत आयोजना (१०० मेगावाट) को २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको इप्पानले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend