काठमाडौं । गत साउन ९ गते सौर्य एयरको विमान दुर्घटना भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ मध्ये १८ जनाको घटनास्थलमै मृत्यु भयो । प्राविधिक परीक्षणका लागि भन्दै पोखरा हिँडेको विमान उडेको एकछिनमै खसेको थियो ।
यो ठूलै दुर्घटना थियो, जसले देशव्यापी रुपमा नै सन्नाटा छाएको थियो । एकातर्फ त्यतिधेरै मानिसको ज्यान गएका कारण मानिस स्तब्ध थिए भने अर्कातर्फ नेपालको आकास दिन प्रतिदिन असुरक्षित बन्दै गएकोमा चिन्ता छाएको थियो । पछिल्लो समयमा नेपालमामा पनि हवाई यात्रा गर्ने, देशभित्रैका कतिपय पर्यटकीय स्थल घुम्न जाने, बस्ने र आन्तरिक पर्यटन प्रवर्धन गर्ने वानी विकास भएको छ । घुमघाममा नेपालीहरु पनि जहाज चढ्न थालेकोमा यस्ता दुर्घटनाले नेपालीहरु पनि डराइरहेको अवस्था छ ।
यो दुर्घटनापछि तत्कालै मन्त्रिपरिषदको बैठक बस्यो । सरकारले तत्कालै छानविन आयोग गठन गर्यो अनि दुर्घटनाको भोलिपल्ट अर्थात् साउन १० गतेलाई राष्ट्रिय शोकको घोषणा पनि गर्यो । देश र विदेशमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने आदेश भयो र गरियो पनि ।
यो दुःखद दुर्घटनाको केही दिनमात्र अघि नारायणगढ मुग्लिन सडक अन्तर्गतको सिमलतालमा त्यो भन्दा पनि भयानक दुर्घटना भएको थियो । गएको असार २८ गतेको राति सो बाटो भएर गुडिरहेका रात्रिबसलाई लेदोसहतिको पहिरोले बगाउँदा ती दुई बसमा रहेका ६० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसमा कतिपय भारतीय नागरिक पनि परेका थिए । धेरै मानिस त नारायणी नदीले बगाएको थियो । निकै पछिसम्म जारी राखिएको खोजी कार्यमा बस समेत भेट्न मुस्किल पर्यो । कैयौँ मानिस अहिले पनि भेटिएका छैनन् । कतिको शव खोजबिनका क्रममा भेटियो भने अझै कैयौँ बेपत्ता नै छन् । यद्यपि, ती व्यक्ति भेटिने आशा नरहेकाले परिवारले उनीहरुको काजक्रिया नै गरिसकेका छन् ।
त्यसपछि नागरिकले व्यापक मात्रामा कुरा उठाए सामाजिक सञ्जालमा । हवाई जहाज दुर्घटनामा परेर १८ जनाको ज्यान जाँदा सरकारले तत्कालै मन्त्रिपरिषदको बैठक बस्यो र राष्ट्रिय शोकको घोषणा गर्यो । तुरुन्तै छानबिन आयोग गठन गर्यो र उनीहरुलाई क्षतिपूर्तिको घोषणा पनि गर्यो । तर पनि सिमलतालमा भने ६० जना भन्दा बढी सर्वसाधारणको ज्यान जाँदा पनि सरकारले अरु त के खोजबिनका लागि चितवनका प्रहरीमात्र परिचालन गर्यो । सरकारले खोजविनको कामलाई प्राथमिकतामा राखेन भनेर परिवारहरु मिडियामा रोइकराई गरे । त्यसपछि बल्ल सरकारले काठमाडौँबाट थप सशस्त्र प्रहरी पनि पठायो । पछि त यहाँकाले नसकेर भारतबाटै गोताखोरहरु पनि झिकायो ।
त्यतिबेला जनताले उठाएको प्रश्न हवाई जहाज र गाडीमा हुने नागरिकको मृत्युको भेदको हो । नागरिकले मृत्युवरण गरिरहेका छन् पछिल्लो समय । हवाई तथा सडक दुर्घटनामा परेर । तर, पनि सरकारले भने देखिने गरी नै विभेद गरिरहेको छ । जहाज दुर्घटनामा परी ज्यान गुमाउनेलाई त्यो र बस दुर्घटनाका मृतकलाई यो स्टाटस दिएर । अनि मृत्युप्रति यस्तो विभेद किन ? यहाँ जहाज चढ्ने नागरिकलाई दिएको सम्मानको यहाँ कुनै टिकाटिप्पणी गर्न खोजिएको होइन, बरु यो प्रश्न सडक यातायातको दुर्घटनामा परेर ज्यान गुमाउने नागरिकलाई गरेको अपमानप्रतिको चाहिँ हो ।
मृतकलाई दिने सम्मानप्रति हाम्रो नकारात्मक टिकाटिप्पणी होइन, हुनुहुदैन । तर मानिसको आत्मसम्मान र उनीहरुप्रति राज्यले दिने व्यवहारका लागि हामीले नउठाए कसले उठाउने त प्रश्न ?
आजका दिनको अवस्था पनि ठिक यस्तै छ । अहिले देशभरि प्राकृतिक विपतको उद्धारको काम भइरहेको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिराले देशैभरि क्षति भएको छ । यो समाचार तयार पार्दासरम्म बाढीको प्रकोपले १ सय ९२ जनाको ज्यान लिइसकेको छ । अरु दर्जनौँ मानिस अझै बेपत्ता छन् । उनीहरुको पनि जिवितै उद्धारको सम्भावना कम छ । किनभने बाढीले बगाएको र पहिरामा पुरिएका हुनसक्ने व्यक्ति मात्र बेपत्ताको सूचीमा छन् ।
अकस्मात आएको नभएर तीनदिन अघिदेखि नै ठूलो पानी पर्ने आँकलनको सूचना मौसम विभागले दिएकै थियो । त्यसबेला नै सतर्कता अपनाउनु पर्ने थियो । तर, सरकारले रात्री वस सञ्चालन बन्द गर्यो मात्र ठूलो विपत्ति आउने अनुमान गरेन । त्यसकारण उद्धार तथा पूर्वतयारीमा खट्नुपर्ने जिम्मेवारीका व्यक्ति तथा निकायको परिचालनमा सरकार लाग्नुपर्दथ्यो, तर लागेको देखिएन । राजधानीमा प्रकोपको उद्धारमा गृह प्रशासनको लवस्तरोपना सबै जनताले स्पष्टै देखिएको थियो । यहाँसम्म कि गृहमन्त्रीले उद्धार गर्न नसकिने भनी जवाफ दिएका व्यक्तिहरुलाई कुनै सर्वसाधारण व्यक्तिले उद्धार गरिरहेका समाचार हामीले नै पढेका, देखेका छौं ।
यस्तो अवस्थामा सरकारको बैठक त बस्यो शनिबार नै तर कुनै नयाँ काम र प्रयोजनका लागि त्यो थिएन । मात्र प्रहरी तथा सबै सुरक्षा निकायलाई सशक्त रुपमा लाग्नु भन्नलाई थियो, भन्यो । त्यसो त सुरक्षा निकायहरु कहिल्यै पनि सुतेका हुँदैनन्, उनीहरु सदैव सतर्क नै हुने गर्दछन् । अर्कोकुरा देशैभरि यस्तो विपतबाट नागरिकको ज्यान गइरहँदा राष्ट्रिय विपत या शोकको घोषणा गर्न सकेको छैन । नागरिक मरिरहेका छन् अझैसम्म कुनै क्षतिपूर्तिको घोषणा गर्ने तथा मृतहरुप्रति श्रद्धाञ्जलीस्वरुप कुनै कार्यक्रम गर्न सकेको छैन ।
यतिखेर पनि उही सौर्य एयरलाइन्स अथवा भनौँ न विगतमा हुने विमान दुर्घटनाका मृतक र अहिलेका मृतकको मृत्युको मूल्यका बारेकै चर्चा अहिले पनि नागरिकले आफ्ना सामाजिक सञ्जालमा उठाइनै रहेका छन् । तर, सरकारले सुनेको छैन । न कुनै आयोग गठन गरेर काम थालेको छ र नत नागरिकको मृत्युको आँकलन गरेर नै कुनै नयाँ निर्णय गर्न सकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुलुकका १७ राजमार्गका ४७ स्थानमा अझै सडक अवरोध छ । दसैंकको मुखमा ठूलो विपत्ति आइलागेकाले आम नागरिक घरसम्म पुग्न सक्ने वातावरण बन्ने संकेत अहिलेसम्म देखिएको छैन ।
देश यस्तो अवस्थामा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिकामा रहेका नेपालीका घरघर चाहरिरहेका छन् । यहाँ यी विचारहरुको आसय प्रधानमन्त्री यहाँ नभएर विपत आयो भन्ने त होइन । तर यसप्रतिको उनको संवेदनशिलताको भने पक्कै हो । प्राकृतिक विपत्ती कसैका कारणले आउँदैन र कसैलाई जोड्नु पनि हुँदैन । तर विपत्ती आइसकेपछि त्यसका प्रति देशका शासक, प्रशासक कत्तिको गम्भीर हुन्छन् भन्ने चाहिँ हो । ठूलो विपत्ति आउँदा पनि प्रधानमन्त्री ओलीले समान्य घटनाको रुपमा लिएका छन् ।
शनिबार यस्तो विपत्ती आएपछि प्रधानमन्त्री ओलीले सोही दिन नेपाल फर्किनुपथ्र्यो । तर उनले फर्कने प्रयत्न उनले गरेरनन् । यता देश विपत्तिमा परिरहेका बेला पनि उनी अमेरिकाको वोस्टनमा कुनै नेपालीका घरमा वाणिज्यदूतको कार्यालयको उदघाटन गरेर भोज खान नै व्यस्त भएका छन् । त्यो उनले नगर्न सक्थे र दुई दिनको भए पनि यात्रा छोटाएर देश फर्किन सक्थे ।
यति मात्र हैन्, बाढी र पहिरोले सडक अवरुद्ध हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि झापामा पार्टी कार्यक्रममा बरालिरहेका थिए । सडक खुलाउन लाग्नुपर्नेमा आइतबारसम्म पार्टीको कार्यक्रममा व्यस्त भएका थिए । मुलुकमा संकट आउँदा पनि मन्त्री दाहालले यसलाई सामान्य लिएर आइतबार अपराहन्न मात्र काठमाडौं फर्किएका थिए ।
जस्तो कि इजरायल, युक्रेनका प्रधानमन्त्रीहरु फर्किसके । किनकि ती देश अहिले आन्तरिक द्धन्द्धमा परेका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि फर्किए । जबकी संयुक्त राष्ट्रसंघको महासभामा नै उनले सम्बोधन नगरी फर्किएका थिए । तर हाम्रा प्रधानमन्त्री ओली भने उतै बसिरहेका छन्। ठूलो विपत्ति आएको दिन न्युयोर्कमा काम सकेर प्रधानमन्त्री शनिबार बोस्टनतिर लागे ।
अहिलेको प्रश्न आफ्ना नागरिकलाई सरकारले कति महत्व दिन्छ भन्ने हो । यता, नागरिक मरिरहँदा मुलुकका कार्यकारी प्रमुखले नागरिकका आँशु र पीडामा ‘भ्यालु’ कति दिन्छन् भन्ने हो । जस्तो कि इजरायलले लेबनानमा आक्रमण सुरु गरेपछि भारतले आफ्ना सबै नागरिकलाई स्वदेश फर्काउन थालिसक्यो, तर हाम्रा भने बेखबर छन् । हाम्रो देशका कार्यकारी प्रमुखले भने दुर्घटना भइसकेपछि र नागरिकको ज्यान गइसकेपछि विज्ञप्ति प्रकाशन गरेर दुःख व्यक्त गर्न नै हतार गर्ने गर्दछन् । त्यसैले त यतिखेर हरेक नेपाली नागरिकले सरकारलाई सोधिरहेका छन् कि‐ सरकार, नागरिकको मूल्य कति हो ?
यो पनि :
बाढी पहिरोले देश रोएका बेला भौतिकमन्त्री दाहाल झापाको पार्टी कार्यक्रममा मस्त