काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच बिहीबार (भोली) त्रिपक्षीय विद्युत खरिद बिक्री व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच बिजुली खरिद बिक्रीका लागि त्रिपक्षीय सम्झौता हुन लागेको हो । बिहीबार अपराहन्न विद्युत निर्यातका विषयमा त्रिपक्षीय सम्झौता हुने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
४० मेगावाटको विद्युत खरिद बिक्री व्यापार सम्झौता पाँच वर्षका लागि हुने भएको हो । नेपालले बंगलादेशलाई प्रतियुनिट ६.४ सेन्ट डलरमा बिजुली बेच्ने छ । यस्तै बिजुली दलाली शुल्क भारु ६ पैसा एनभिभिएनले लिने छ । प्राधिकरणले २२ मेगावाटको चिलिमे र २४ मेगावाटको त्रिशूली जलविद्युत आयोजनाको बिजुली बंगलादेशलाई बेच्ने छ । नेपाल विद्युत प्राधिकरणका अनुसार वर्षायाममा बंगलादेशलाई बिजुली बिक्री गरेर १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्ने छ ।
मंगलबार सहसचिवस्तरिय बैठक सम्पन्न भएको छ । बुधबार सचिवस्तरिय ज्वाइन्ट स्टेरिङ कमिटी (जेसिडब्ल्युआर) को बैठक हुँदै छ । नेपाली प्रधिनिधिमण्डलको नेतृत्व ऊर्जासचिव सुरेश आचार्यले नेतृत्व गर्ने भएका छन् ।
बंगलादेश, नेपाल र भारतबीच ऊर्जा सहयोगसम्बन्धी समझदारी (एमओयू) भएको छ वर्षपछि नेपालबाट भारत हुँदै ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर हुन लागेको हो । नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा हस्ताक्षर भइसकेको छ । २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत राज्य मन्त्री नसरुल हमिदबीच विद्युत क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुवात गर्ने प्रयोजनाका लागि समझदारीमा हस्ताक्षर भएको थियो ।
सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । नेपाल र भारतबीच विद्युत आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय लाइन हुँदै बिजुली भारतीय भूमिबाट बंगलादेश जानेछ । प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ ।
प्रसारण लाइनको प्राविधिक चुहावट भने ढल्केबर–मुजफ्फपुरबीचको विद्युत प्राधिकरणले नै व्योहोर्नेछ । प्राधिकरणले भारतीय कम्पनी एनभिभिएन विद्युत व्यापार कम्पनीलाई बिजुली उपलब्ध गराउनेछ । सोही कम्पनीले नेपाली बिजुली बंगलादेश पुर्याउनेछ ।
भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश जानेछ । पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । बंगलादेश सरकारले आगामी सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।
भारतको जिएमआर इनर्जी लिमिटेडले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली खरिद बिक्रीका लागि बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग एमओयू गरिसकेको छ । इन्डियन इनर्जी डेभलपमेन्ट एजेन्सी र सतलज जलविद्युत निगमको प्रवेशपछि माथिल्लो कर्णाली बन्ने संभावना बढेको छ ।
भारतले नेपालका एक दर्जन जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भ्रमण ताका भारतले नेपालका एक दर्जन आयोजनाबाट विद्युत निर्यातका लागि विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत बिजुली निर्यात गर्ने छ । प्राधिकरणले अहिले १६ आयोजनाहरुबाट ६ सय ९० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । नयाँ स्वीकृतिसँगै अब बढेर विभिन्न २८ आयोजना पुग्ने छ । यी आयोजनाबाट कूल ९ सय ४१ मेगावाट बिजुली भारतमा निर्यात गर्न लागेको हो ।
यस्तै सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ ।
यो पनि :