logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • थप शीतभण्डार बनाउन सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै वेयर हाउजिङ

    थप शीतभण्डार बनाउन सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै वेयर हाउजिङ

    581
    Shares
    थप शीतभण्डार बनाउन सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै वेयर हाउजिङ

    काठमाडौँ । कृषिजन्य उत्पादनको भण्डारणका लागि निम्बस ग्रुपले स्थापना गरेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले चुक्ता पुँजी बढाउने भएको छ । कम्पनीले चुक्ता पुँजी बढाउन सत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    वेयर हाउजिङको सोमबार बसेको सञ्चालक समिति ६३ औं बैठकले चुक्ता पुँजी बढाउनका लागि सत्प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल वेयरले कात्तिक ७ गते विशेष साधारणसभा बोलाएको छ ।

    साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छ । बोर्डबाट स्वीकृत पाएपछि हकप्रद सेयर निष्कासनको बाटो खुला हुनेछ ।

    वेयर हाउजिङको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । हकप्रद निष्कासनपछि पुँजी बढेर १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुग्ने छ । थप शीतभण्डार पूर्वाधार बनाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले बनाइ रहेको दुई खाद्यान्न भण्डार केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । गत आर्थिक वर्षमा कम्पनी ८ करोड रुपैयाँ नोक्सानमा छ । गत असारसम्म कम्पनीको नोक्सान ६ करोड ३१ लाख रुपैयाँ कम भएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुबै ऋणात्मक छ ।

    सुनसरीमा रहेको भण्डारण सञ्चालनमा आइसकेको छ । यस्तै पर्सामा रहेको भण्डारणको काम सकिएको छ । कपिलवस्तुमा रहेको भण्डारण निर्माण जारी छ । यो वर्षको अन्तिममा सञ्चालनमा आउने नेपाल वेयर हाउजिङले जनाएको छ ।

    ३ स्थानमा भण्डारण केन्द्रहरु बनेपछि वेयर हाउजिङको कुल क्षमता ५५ हजार टन पुग्ने छ । कम्पनीले प्रदेश नम्बर १ को सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा भण्डारण गृह बनाइ २०७८ चैत २० गते सञ्चालनमा ल्याइसकेको छ ।

    यसको भण्डारण क्षमता १५ हजार टन छ । यस्तै मधेस प्रदेशको पर्सामा कम्पनीको २५ हजार टन खाद्यान्न भण्डारण गर्ने क्षमता छ । लुम्बिनी प्रदेशको कपिलवस्तुमा १५ हजार टन क्षमताको भण्डारण केन्द्र निर्माणाधीन अवस्थामा छ ।

    सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका सहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषिजन्य वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

    मुलुकको ३ स्थानमा ५५ हजार टन खाद्यान्न भण्डार गर्न निर्माण र निर्माणधिन चिस्यान केन्द्र पूर्वाधार बनाउन १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । कम्पनीले ९४ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ ।

    भण्डारण बनाउन आवश्यक ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू हाल ग्लोबल आइएमई बैंक र कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको छ ।

    नेपाल वेयरको संस्थागत र व्यक्तिगत गरी २३ संस्थापक लगानीकर्ता छन । कम्पनीमा सबैभन्दा बढी स्वामित्व निम्बस ग्रुपछ । निम्बसको ३० प्रतिशत हिस्सा छ । निम्बसको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेडको २२ प्रतिशत हिस्सा छ ।

    अन्य लगानीकर्तामा एनएमबी बैंकको ३, नेपाल इन्फ्रास्ट्रक्सचर बैंक (निफ्रा) को ७ प्रतिशत सेयर छ । निफ्राले कम्पनीमा ५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गरेको छ ।

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ प्रतिशत स्वामित्व छ । सन् २०१७ मा स्थापना भएको कम्पनी २०१८ मा आएर आइपिओ निष्कासन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगले धान, मकै र गहुँजस्ता खाद्यान्न बढी उत्पादन हुने तराईका क्षेत्रमा भण्डारण स्थापना गरिरहेको छ ।

    कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ ।

    यो पनि :

    नेपाल वेयर हाउजिङको दुई चिस्यान केन्द्र निर्माणधिन, एक वर्षमा सञ्चालनमा आउने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend