काठमाडौैँ । यसपालि मनसुन लम्बिएर दसैँसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यसपटक मनसुन सरदर मितिभन्दा थप केही दिन पर धकेलिने बताइन् ।
भारी वर्षाको पूर्वानुमान
देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले भारतको उत्तरपूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।
कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।